सर्लाही – समयमै वर्षा नहुँदा मधेशमा धान रोपाइँ ठप्प छ । साउनको दोस्रो सातासम्म आइपुग्दा पनि आधा खेतमा रोपाइँ हुन सकेको छैन । मौसम प्रतिकूल हुनु, सिँचाइको सुविधा नहुनु र खेतको गहिराइमा नमी नपुग्नुजस्ता कारणले किसानको मुख्य पर्खाल बनेको छ ।
पछिल्लो वर्षको तुलनामा यसपालि धान रोपाइँको प्रगति निकै कम छ । गत वर्ष १३ साउनसम्म ९० प्रतिशत रोपाइँ भइसक्दा अहिले ११ साउनसम्म जम्मा ५१ प्रतिशत मात्रै रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकले देखाएको छ । मधेश प्रदेशका ८ जिल्लामा कुल ३ लाख ७३ हजार हेक्टर क्षेत्रफलमध्ये १ लाख ९३ हजार हेक्टरमा मात्रै रोपाइँ सकिएको छ ।

कृषि विकास निर्देशनालय धनुषाका सूचना अधिकारी सुदीप चौधरीका अनुसार सर्लाही, धनुषा, महोत्तरी, सिरहा, सप्तरी लगायत जिल्लामा स्थिति चिन्ताजनक छ । “मधेशको धेरैजसो खेत सिँचाइको भरमा नभएर आकाशे पानीमै भर पर्छ,” चौधरीले भने, “समयमै पानी नपरेपछि रोपाइँ थाल्नै नसकिएको हो ।”
खेत रोपिए पनि सिँचाइको सुविधा नहुँदा बिउ सुक्न थालेको किसानहरूको गुनासो छ । कतिपय ठाउँमा बोरिङ र डिप ट्युबवेल जडान गरिए पनि पर्याप्त बिजुली वा डिजेल अभावले चलाउन सकिएको छैन । कतै नहरहरू वर्षौँदेखि जिर्ण छन् भने कतै मर्मत नहुँदा प्रयोगमै आउन सकेका छैनन् ।
रौतहट, बारा, पर्साजस्ता जिल्लामा अवस्था केही सन्तोषजनक देखिए पनि महोत्तरी, धनुषा, सिरहा र सप्तरीजस्ता जिल्लामा रोपाइँ न्यून छ । सप्तरीमा ६८ हजार हेक्टर क्षेत्रफलमध्ये २५ हजारमा मात्रै रोपाइँ भएको छ । सिरहामा ५४ हजार हेक्टरमध्ये २० हजार, धनुषामा ४३ हजारमा १५ हजार र महोत्तरीमा ४२ हजारमा १४ हजार हेक्टरमा मात्रै रोपाइँ भएको छ ।
उत्पादनमा ठूलो गिरावट आउने देखिएको कृषि विज्ञहरूको चेतावनी छ । कृषि मन्त्रालयका सूचना अधिकारी तथा वरिष्ठ कृषि अर्थ विज्ञ महानन्द जोशीका अनुसार अब पानी परे पनि ढिलो भइसकेको छ । “बुढो बेर्ना लगाउनुपरेको छ, त्यसमा फेरि पानी नपरे उत्पादकत्व घट्छ,” उनले भने, “अहिलेसम्म आधा खेत बाँझो छ, यो अवस्थामा खाद्य संकटको जोखिम पनि देखिन्छ ।”
मधेशमा मात्रै होइन, यसले देशैभर प्रभाव पार्न सक्छ । “यहाँको उत्पादनले मधेश मात्र होइन, देशभर आपूर्ति धान्दछ,” जोशी भन्छन्, “उत्पादन घटे आपूर्ति सञ्जाल नै प्रभावित हुन्छ ।”
गएको वर्ष धान उत्पादनले कीर्तिमान कायम गरे पनि भारतबाट ४० अर्ब रुपैयाँभन्दा बढीको धानचामल आयात भएको थियो । यस वर्ष उत्पादन झन् घट्ने अवस्था आएपछि आयातको निर्भरता बढ्ने निश्चितजस्तै देखिन्छ ।
धान उत्पादनमा आएको गिरावटले देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा समेत असर पार्ने जोशीको भनाइ छ । “धान कृषि क्षेत्रको मुख्य आधार हो, जसको जीडीपीमा २५ प्रतिशतभन्दा बढी योगदान छ,” उनले भने, “उत्पादन घटे आर्थिक सूचकमा सीधा असर पर्छ ।”
मधेशका ८ जिल्लामा पछिल्ला तीन वर्षमा ६७ लाख टनभन्दा बढी धान उत्पादन भएको मन्त्रालयको अभिलेख छ । २०७८/७९ मा २२ लाख १० हजार टन, २०७९/८० मा २२ लाख ५७ हजार र २०८०/८१ मा २२ लाख ३३ हजार टन धान उत्पादन भएको थियो ।
चालु वर्षमा हालसम्मको रोपाइँको अवस्था हेर्दा उत्पादन २० प्रतिशतले घट्न सक्ने आँकलन गरिएको छ । यदि साउनको अन्तिम सातासम्म पनि रोपाइँमा उल्लेख्य सुधार नआए, उत्पादन अझै घट्न सक्ने कृषि विज्ञहरूको निष्कर्ष छ ।





