सर्लाही – सामाजिक सञ्जालमार्फत ‘अचुक’ भन्दै प्रचार गरिएका केही औषधिजन्य उत्पादनमाथि औषधि व्यवस्था विभागले तत्काल प्रतिबन्ध लगाएको छ। फेसबुक, टिकटक र युट्युबजस्ता प्लेटफर्महरूमा क्यान्सर निको हुनेदेखि यौनशक्ति बढाउनेसम्मका अविश्वसनीय दाबीसहित बेचिँदै आएका नौ वटा उत्पादन जनस्वास्थ्यका लागि खतरा रहेको ठहर गर्दै विभागले ती वस्तुहरूको बिक्री, वितरण, विज्ञापन र ओसारपसार तत्काल रोक्न निर्देशन दिएको हो।
बिहीबार एक जरुरी सूचना प्रकाशित गर्दै विभागले ती उत्पादन न चिकित्सकीय प्रमाणित छन्, न त गुणस्तरीय परीक्षण गरिएको छ भन्ने स्पष्ट पारेको छ। विज्ञापनमार्फत ‘ग्यारेन्टीसहित रोग निको’ हुने दाबी गर्दै नागरिकलाई भ्रममा पारिएको र यसले उनीहरूको स्वास्थ्यमा गम्भीर असर पार्नसक्ने विभागको भनाइ छ। विभागका महानिर्देशक डा. नारायण ढकालका अनुसार यस्ता झुटा दाबीले नागरिकको स्वास्थ्यमाथि खेलबाड मात्रै गर्दैन, औषधि क्षेत्रमै अविश्वास पैदा गरिदिन्छ।

प्रतिबन्धित उत्पादनहरूले थाइराइड, सुगर, प्रोस्टेट, युरिक एसिड जस्ता दीर्घरोग निको पार्ने, मोटोपन घटाउने, शीघ्रपतन रोक्ने, यौनशक्ति बढाउने, जाँड–रक्सीको लत छुटाउने र यहाँसम्म कि क्यान्सर समेत निको हुने जस्ता दाबी गर्दै आएका थिए। यस्ता दाबीहरू न त वैज्ञानिक आधारमा थिए, न त प्रमाणसहित। यसरी आमनागरिकको भावनामा खेल्दै स्वास्थ्यमाथि खतरा पैदा गर्ने क्रियाकलापलाई नियन्त्रण गर्न विभागले कानुनी प्रक्रिया अघि बढाइसकेको छ।
विभागले प्रतिबन्ध लगाएका नौ उत्पादनहरूमा पौरुष हेल्थ जीवन, पौरुष जीवन, डिफ्यूजल-एल, कायाप्लस, १०० हर्स पावर, ३० मिनेट स्टप, डायबेटिक कन्ट्रोल, जिमनेमा सिलभेस्ट्रे क्याप्सुल र बूजी रहेका छन्। यीमध्ये अधिकांश यौनशक्ति वृद्धिका नाममा प्रचार गरिएका थिए भने केही ‘डायबेटिक नियन्त्रण’ र ‘क्यान्सर निको’ भन्ने झुटा दाबीसहित बजारमा आएका थिए।
विभागले उपभोक्ताहरूलाई यस्ता वस्तु कतै देखिएमा खरिद नगर्न र सेवन नगर्न अपिल गरेको छ। औषधि ऐन, २०३५ अनुसार प्रमाणविहीन औषधिजन्य उत्पादनको उत्पादन, वितरण, ओसारपसार वा बिक्री गर्नु दण्डनीय अपराध हो। विभागले यस्ता अवैध गतिविधिमा संलग्नहरूमाथि कडा कानुनी कारबाही गरिने चेतावनी पनि दिएको छ।






