सर्लाही – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आफूमाथि हाल चलाइएको मुद्दा राजनीतिक प्रतिशोध र पूर्वाग्रहको उपज भएको दाबी गरेका छन्। प्रदेशस्तरीय कार्यसम्पर्कमा विराटनगर आइपुगेका अध्यक्ष नेपालले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भने, “माथि लागेको मुद्दा भ्रष्टाचारको होइन, कानुनी प्रक्रिया पुरा गरेर गरिएको निर्णय हो ।
यसबाट राज्यलाई क्षति होइन, लाभ नै पुगेको छ।” उनका अनुसार, निजी जग्गा खरिदसम्बन्धी निर्णय कानुन, ऐन र संविधानअनुसार सर्वसम्मत ढंगले भएको थियो। कानुनले अधिकतम सीमा भन्दा बढी जग्गा लिन पाउने व्यवस्था गरिसकेको भन्दै उनले त्यसैको आधारमा निर्णय गरिएको स्पष्ट पारे।

पंतजलि समूहसँग सम्बन्धित योग कार्यक्रममा सहभागी भएको विषयलाई लिएर भइरहेको आलोचनाबारे प्रतिक्रिया दिँदै नेपालले भने, “त्यस कार्यक्रममा म मात्र होइन, शेरबहादुर देउवा, पुष्पकमल दाहाल र झलनाथ खनाललगायत नेताहरू पनि सहभागी थिए। तर आरोपचाहिँ मलाई मात्र किन?”
नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि पनि कडा प्रहार गरे। “ओलीको दम्भ र नीति देशका लागि अभिशाप बनेको छ,” भन्दै उनले देश समृद्ध बन्न ओलीको राजनीतिक अवसान अपरिहार्य भएको बताए। झलनाथ खनालप्रति संकेत गर्दै नेपालले निर्णय उल्लङ्घन गर्ने नेताहरू भित्र खनाल अग्रपङ्क्तिमा रहेको आरोप लगाए।
एकीकृत समाजवादी र माओवादी केन्द्रबीचको सम्बन्ध अझ बलियो बनाउने संकेत दिंदै अध्यक्ष नेपालले समाजवादी मोर्चालाई निरन्तरता दिने बताए। “हामी दुई पार्टीबीच विश्वासको जगमा सहकार्य गहिरो बनाउँदै लैजानेछौँ,” उनले प्रस्ट पारे। राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीति गर्न संविधानले रोकेको छैन भन्ने धारणा राख्दै उनले व्यक्तिको स्वतन्त्र अधिकारको सम्मान गरिनु पर्ने बताए।
एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रकरणलाई तमाशा बनाएको आरोप लगाउँदै नेपालले भने, “एमालेको यस्तो भूमिका सिंगो कम्युनिस्ट आन्दोलनका लागि घातक बन्ने खतरा छ, र त्यो मुलुकको हितमा हुने छैन।”





