गोडैता – सर्लाहीको बलरा नगरपालिका – ६, मिजारपुरस्थित श्री अनिता कमलेश्वर प्राथमिक विद्यालयमा नयाँ तीन कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले गरेका हुन्।
सो अवसरमा उनले शिक्षालाई समृद्धिको आधार भन्दै भौतिक पूर्वाधारको विकासमार्फत बालबालिकालाई सहज र शैक्षिक दृष्टिले अनुकूल वातावरणमा अध्ययन गर्न सकिने विश्वास व्यक्त गरे। “हाम्रो पुस्ताको उज्ज्वल भविष्य निर्माण गर्न यस्ता पूर्वाधार अपरिहार्य छन्,” नगर प्रमुख कुशवाहाले भने, “शिक्षा र विकासप्रति मेरो अटल प्रतिबद्धता सधैं रहनेछ।”

उनले भवन निर्माणमा साथ, समर्थन र विश्वास दर्शाउने सम्पूर्ण शिक्षक, अभिभावक, स्थानीय समुदाय र निर्माण कार्यमा संलग्न सबैप्रति आभारसमेत प्रकट गरे। नव निर्मित भवनबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सुरक्षित, स्वच्छ र समुन्नत कक्षा कोठामा पढ्ने वातावरण तयार हुने अपेक्षा गरिएको छ।





