धान रोप्न नसकेका किसानका लागि राहत माग गर्दै विपक्षीको १० बुँदे ध्यानाकर्षण

२०८२ श्रावण १६, शुक्रबार २१:५७

सर्लाही – तराई-मधेश क्षेत्रमा यस वर्ष पर्याप्त वर्षा नहुँदा अधिकांश जमिन बाँझिएको छ, जसले गर्दा किसानहरूले समयमै धान रोपाइँ गर्न सकेका छैनन्।

यस्तो कठिन परिस्थितिमा किसानहरूलाई आवश्यक राहत उपलब्ध गराउन माग गर्दै विपक्षी दलहरूको संयुक्त टोलीले शुक्रबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई १० बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ। ध्यानाकर्षणपत्र बुझाउने टोलीको नेतृत्व जसपा–नेपालका प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले गर्नुभएको थियो।

ध्यानाकर्षणपत्रमा मधेश प्रदेशमा बढ्दो खडेरी र त्यसबाट सिर्जिएको खानेपानी र कृषि संकटप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। प्रदेश सरकार यस विषयमा उदासीन देखिएको भन्दै तत्काल समाधानको माग गरिएको छ। राप्रपाकी प्रदेशसभा सदस्य कञ्चन बिच्छाका अनुसार सिँचाइ सुविधा अभाव, समयमै वर्षा नहुनु र सरकारी उदासीनताका कारण किसान गम्भीर संकटमा छन्। यस्तो बेला सरकारको चासो नदेखिनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ।

ध्यानाकर्षणपत्रमा सुख्खाग्रस्त क्षेत्रमा तत्काल सिँचाइको व्यवस्था गर्न, विपद्का कारण संकटमा परेका किसानलाई कृषि ऋणमा छुट दिलाउन संघीय सरकारसँग समन्वय गर्नेसहितका मागहरू समेटिएको छ। उक्त प्रतिनिधिमण्डलमा जसपाका सरोजकुमार यादवसँगै माओवादी केन्द्रका युवराज भट्टराई, नेकपा एकीकृत समाजवादीका मनिष पटेल, राप्रपाकी कञ्चन बिच्छा र नेपाल संघीय समाजवादीकी विमला अंसारी तरन्नुम पनि सहभागी हुनुहुन्थ्यो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार