मधेसमा खडेरी पीडितका लागि स्यालो ट्युबवेल वितरण सुरु

२०८२ श्रावण १७, शनिबार १३:०१

सर्लाही – मधेस प्रदेश सरकारले सुक्खा र खडेरीले थलिएका किसानलाई राहत पुर्‍याउने उद्देश्यले स्यालो ट्युबवेल वितरण प्रक्रिया अघि बढाएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत सुक्खा क्षेत्र सहयोग कार्यक्रम अन्तर्गत यो योजना कार्यान्वयनमा ल्याइएको हो।

कूल १८ करोड रुपैयाँको लगानीमा सुरु गरिएको योजनाअन्तर्गत प्रदेशका आठ जिल्लाका किसानलाई एक हजार दुई सय वटा स्यालो ट्युबवेल उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता सरोज चौधरीले जानकारी दिए। सर्लाही, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरी जिल्लामा खडेरीबाट प्रभावित किसानलाई सम्बन्धित कृषि ज्ञान केन्द्रमार्फत ट्युबवेल वितरण गरिनेछ।

स्यालो ट्युबवेल जडानमा एक लाखदेखि तीन लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ। यदि सोलार प्रणाली जोड्ने हो भने थप खर्च हुने प्रवक्ता चौधरीले बताए। यो खर्च पानीको गहिराइअनुसार घटबढ हुने बताइएको छ।

ट्युबवेल प्राप्तिका लागि किसानले दुई बिघा जमिनको प्रमाणित लालपुर्जा कृषि ज्ञान केन्द्रमा पेश गर्नुपर्नेछ। वितरण प्रक्रिया पारदर्शी बनाउन सात दिने सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ।

पानी अभावका कारण हालसम्म मधेस प्रदेशमा करिब ५० प्रतिशत धानखेती मात्र सम्पन्न भएको तथ्य मन्त्रालयले सार्वजनिक गरेको छ। यस्तो अवस्थामा ट्युबवेल वितरणले किसानलाई राहत दिने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार