गोडैता – सर्लाहीको कौडेना गाउँपालिका–२ इनर्वा टोलस्थित ऐतिहासिक भगवान् शिव (विष्णु हरि)को मूर्तिको तस्बिर समेटिएको हुलाक टिकट सार्वजनिक गरिएको छ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवा विभागले आयोजना गरेको विशेष समारोहमा सो टिकटमा टाँचा लगाएर औपचारिक रूपमा विमोचन गरे।

रु १० मूल्य अंकित उक्त टिकटमा प्राचीन मूर्तिको तस्बिर रहेको छ, जुन १२औं वा १३औं शताब्दीतिर निर्मित भएको मानिन्छ। गाउँपालिकाका अध्यक्ष रूपेश कुमारले कौडेना गाउँको सांस्कृतिक सम्पदा राष्ट्रिय चिनारीको माध्यम बनेको भन्दै हुलाक टिकटमार्फत प्रचार भएकोमा खुसी व्यक्त गरे।





