लालबन्दी – पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मधेशमा दोहोरिँदो सुक्खा समस्या समाधानका लागि चुरे क्षेत्रमै वर्षातको पानी भण्डारण गर्न सक्ने दीर्घकालीन योजना तत्काल अघि बढाउन आग्रह गरेका छन्।
शनिबार सर्लाहीको लालबन्दी नगरपालिका–१५ स्थित परवानीपुर बोहोरेडाँडामा निर्माण गरिएको पुष्पलाल स्मृति भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालले भने “हामीले वर्षातको पानी चुरे क्षेत्रमै रोक्न सक्ने योजना बनाएका भए, आज मधेशमा यस्तो सुक्खा अवस्था आउने थिएन।”

उनले चुरेबाट बगेको पानी अनावश्यक रूपमा समुन्द्रसम्म पुगिरहेकाले त्यसलाई स्थानीय क्षेत्रमा नै रोक्न र सिँचाइ तथा जलभरणका लागि प्रयोग गर्न सकिने उपायहरूमा सरकारले गम्भीर हुनुपर्नेमा जोड दिए। “अहिले पानी बगेर गइरहेको छ, भोलि पानीको हाहाकार भइरहनेछ,” उनले भने, “स्थानीय, प्रदेश र संघ सरकार सबैले समन्वय गरेर समाधानको बाटो खोज्नुपर्छ।”
नेपालले आफ्ना अनुभव सुनाउँदै भने “विराटनगरबाट उदयपुर, सिन्धुली हुँदै सर्लाही आइपुग्दासम्म बाटोभरि पानी परेको देख्दा खुसी लाग्यो। तर, त्यो पानी भोलिका दिनमा संचित गर्न सक्ने संरचना छैन भने, त्यसले तत्काल राहत दिए पनि दीर्घकालीन समाधान हुँदैन।”
पूर्व प्रधानमन्त्री नेपालले चुरे क्षेत्रका खोल्सामा पोखरी निर्माण, रिचार्ज प्रणालीको विस्तार तथा जलस्रोत संरक्षणमा वैज्ञानिक योजना आवश्यक रहेको बताए। उनले प्रधानमन्त्री हुँदा आफूले अघि सारेको ‘राष्ट्रपति चुरे संरक्षण योजना’ अझै पनि अपेक्षाअनुसार कार्यान्वयनमा नआएको भन्दै चिन्ता व्यक्त गरे।
नेपालले सप्तकोशीको पानीलाई सर्लाहीको बागमतीसम्म ल्याएर सिँचाइ प्रणाली विस्तार गर्ने सोच अघि बढाउनुपर्ने धारणा राखे। “हाल १५ प्रतिशत मात्र सप्तकोशीको पानी सिँचाइमा प्रयोग हुँदैछ, यदि त्यो पानी बागमतीसम्म ल्याइयो भने मधेशमा सिँचाइको अभाव रहने थिएन,” उनले स्पष्ट पारे।
सो अवसरमा उनले पुष्पलाल स्मृति भवनमा पुष्पलालसँगै लोकतान्त्रिक आन्दोलनका नेताहरू गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, तुल्सीलाल अमात्य, निर्मल लामा तथा मधेशका किसान आन्दोलनमा सहादत प्राप्त व्यक्तिहरूको शालिक स्थापना गर्न पनि आग्रह गरे।
त्यसैगरी, पूर्वप्रधानमन्त्री नेपालले शनिबार नै हरिपुर नगरपालिका–७ स्थित चिताइनमा निर्माण गरिएको पक्की छठघाटको उद्घाटन समेत गरे।
समबन्धित खबर:
– पुष्पलाल स्मृति भवनको उद्घाटनका लागि पूर्वप्रधानमन्त्री नेपाल आज सर्लाही आउँदै





