तराई मधेसमा राखी पर्वको चहलपहल

२०८२ श्रावण १८, आईतवार ०९:५५

सर्लाही – साउन लागेसँगै मिथिलाञ्चलमा चाडपर्वको बहार सुरु भएको छ। प्राचीन परम्परा बोकेको मिथिला क्षेत्रमा वर्षको सुरुवात नै पर्वसँगै हुने चलन छ। यही सन्दर्भमा, साउन शुक्ल पक्ष प्रारम्भ भएसँगै अहिले मधेशमा राखी (रक्षाबन्धन) पर्वको चहलपहल बढी रहेको छ।

मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्ग अनुसार साउन महिनाबाट वर्षको आरम्भ हुन्छ, जुन चन्द्रमास पद्धतिमा आधारित छ। वर्षको यो पहिलो महिना चाडपर्वहरूको संकेतक हो भने साउन कृष्णपञ्चमीदेखि सुरु हुने पर्वहरूमा मौन व्रत, मधुश्रावणी, नागपञ्चमी, झुलनोत्सव र राखी प्रमुख छन्।

रक्षाबन्धन जसलाई यहाँ ‘राखी’ भनेर चिनिन्छ, दिदीबहिनी र दाजुभाइबीचको प्रेम र विश्वासको प्रतीक मानिन्छ। यस पर्वमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको नाडीमा रक्षा सूत्र बाँधेर दीर्घायु र समृद्धिको कामना गर्छन्।

सम्पूर्ण मिथिला क्षेत्र यतिखेर राखीमय बनेको छ। बजारहरूमा रंगीचंगी, कलात्मक राखीहरू देख्न पाइन्छ। किशोरीदेखि नवविवाहित चेलीहरूसम्म राखी छनोटमा व्यस्त छन्। आफ्ना दाजुभाइ कुन शहर, कुन देशमा छन् भनेर खोजखबर गर्ने, निम्तो दिने, मिठा परिकार बनाउने तयारीले मिथिलानीहरूको दैनिकी सजिएको छ।

पुराना दिन सम्झिँदै धेरै चेलीहरू भन्छन् पहिले टाढा रहेका दाजु भाईलाई हुलाकमार्फत राखी पठाउने चलन थियो, तर अहिले मोबाइल र सामाजिक सञ्जालले दूरी घटाएको छ। धेरै दाजुभाइहरू घर फर्किन छुट्टी मिलाउँदै छन् भने चेलीहरू त्यो खबर सुनेर हर्षित छन्।

यस पर्वको अर्को विशेष पक्ष भनेको, जहाँ दाजुभाइ वा दिदीबहिनी नभए, नजिकका आफन्त वा साथीमार्फत राखी बाँध्ने र परम्परा निभाउने चलन हो। यसले पर्वको सामाजिक र मानवीय पक्षलाई अझ उजिलो बनाएको छ।

राखीमा ब्राह्मण पुरोहितद्वारा मन्त्रपूर्वक राखी बाँध्ने चलन भए पनि मिथिलामा दिदीबहिनीको हातबाट राखी बाँधिनु नै प्रमुख मानिन्छ। विशेष कुरा के छ भने, अहिले यो पर्व केवल हिन्दूहरूभित्र सीमित छैन, इस्लाम धर्मावलम्बीहरू पनि आफ्ना हिन्दू साथीहरूका दिदीबहिनीबाट राखी बाँध्ने संस्कारलाई आत्मसात गर्न थालेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार