मलंगवा – सर्लाहीका उखु किसानले आफूहरुले पाउन बाँकी रहेको अनुदान रकमको माग गर्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
उखु उत्पादक संघको नेतृत्वमा आज (आईतबार) सर्लाही जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र पठाइएको छ। ज्ञापनपत्रमार्फत सरकारले वचन दिएअनुसारको प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान अझै वितरण नभएको भन्दै किसानले तत्काल निकासा गर्न माग गरेका छन्।

उक्त ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी (सिडिओ) तुलसी बहादुर श्रेष्ठ मार्फत बुझाइएको हो। संघले लामो समयदेखि बाँकी रकमका लागि सरकारसँग पटक-पटक आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गरेको छ।
संगठनले आगामी साउन २० गते दिउँसो ३ बजे महालक्ष्मी चीनी उद्योगको गेट अगाडि प्रदर्शन गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ। सो अवसरमा टायर बालेर विरोध जनाइने र हजारौं किसानको उपस्थिति रहने जनाएको छ।
उखु उत्पादक संघले सबै किसानलाई उक्त विरोध कार्यक्रममा सक्रिय सहभागिता जनाइ दिन अनुरोध गरेको छ। किसानले अब सहन सक्ने अवस्था नरहेको भन्दै सरकारले अविलम्ब बाँकी भुक्तानी र अनुदान उपलब्ध गराउनुपर्ने बताएका छन्।







