सर्लाही – चुरे क्षेत्रको दोहन रोक्न र सुक्खाग्रस्त किसानलाई राहत दिन माग गर्दै सोमबार काठमाडौंमा प्रदर्शन भएको छ। ‘चुरे तथा वन जंगल संरक्षण अभियान नेपाल’को आयोजनामा आयोजित प्रदर्शनमा सहभागीहरुले “जीवन बचाउ, पानी देउ”, “चुरे बचाऊ, तराई जोगाऊ” जस्ता नारासहित टुँडिखेल परिक्रमा गरेका थिए।
उनीहरुले चुरे विनाशले तराई–मधेशमा पानीको चरम अभाव निम्तिएको दाबी गरे। प्रदर्शनकारीले डिपबोरिङ जस्ता अस्थायी समाधानले सुक्खा समस्या हल नहुने भन्दै, दीर्घकालीन उपायका लागि चेकड्याम, पोखरी संरक्षण, र वन ऐनअनुसार दोषीलाई कारबाहीको माग गरे।

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा घोषित ५०० डिपबोरिङ योजनाप्रति शंका जनाउँदै, यसले समस्या झन् जटिल बनाउने चेतावनी दिए। प्रदर्शनकर्ताहरुले चुरे दोहन तुरुन्त रोक्न र सुक्खाबाट प्रभावित किसानलाई तत्काल राहत तथा क्षतिपूर्ति दिन सरकारसँग जोडदार माग गरेका छन्।





