कृषिपछिको आर्थिक आधार धार्मिक पर्यटन हो – मुख्यमन्त्री सिंह

२०८२ श्रावण १९, सोमबार १७:३४

सर्लाही – मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले धार्मिक पर्यटनलाई प्रदेशको समृद्धिको बलियो माध्यमका रूपमा औंल्याएका छन्। साउने सोमबारको अवसरमा महोत्तरीको बर्दिवास–५ स्थित टुटेश्वरनाथ महादेवको दर्शन गरेपछि उनले मधेसको कृषिपछिको आर्थिक समृद्धिका लागि धार्मिक पर्यटनलाई मुख्य आधार बनाउने धारणा राखे।

“कोशीदेखि ठोरीसम्मका धार्मिक स्थलहरूलाई केन्द्रमा राखेर पूर्वाधार विकास र सम्पदा संरक्षणमा ध्यान दिनु आवश्यक छ,” मुख्यमन्त्री सिंहले भने, “प्रदेश सरकार यसमा पूर्ण प्रतिबद्ध छ।” उनका अनुसार टुटेश्वरनाथ, पञ्चधुरा माईस्थान र राइमण्डलधामजस्ता ऐतिहासिक स्थलहरू प्रदेश सरकारको प्राथमिकतामा परेका छन् र ती क्षेत्रमा पूर्वाधार निर्माणका काम सुरु भइसकेका छन्।

मुख्यमन्त्री सिंहले यी क्षेत्रहरू चुरे पर्वतको फेदीमा रहेका कारण प्राकृतिक रूपले समेत आकर्षक रहेको उल्लेख गरे। पर्यटकीय सम्भावनाले भरिपूर्ण यी ठाउँहरूको विकासमा प्रदेश सरकार स्थानीय तहहरूसँग समन्वयमा रहेर अघि बढ्ने उनले बताए।

टुटेश्वरनाथ र पञ्चधुरा माईस्थानमा दर्शन गरेपछि उनले त्यहाँको पूर्वाधार निर्माण कार्यको अवलोकन पनि गरे। सो अवसरमा बर्दिवास नगरपालिकाका जनप्रतिनिधिहरू, पर्यटन प्रवर्द्धन समिति र नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घका पदाधिकारीहरूले पर्यटन विकास सम्बन्धी विभिन्न सुझाव मुख्यमन्त्री समक्ष प्रस्तुत गरेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार