१२ कक्षाको नतिजा आज साँझ सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा

२०८२ श्रावण १९, सोमबार १८:१७
सांकेतिक तस्बिर

सर्लाही – राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डको बैठक अहिले पनि जारी छ र अन्तिम टुंगो लगाउने प्रक्रियामा छ। गत २१ वैशाखदेखि सञ्चालन भएको परीक्षा देशभरबाट ५ लाख ११ हजार ५ सय २५ जना परीक्षार्थी सहभागी भई सम्पन्न भएको थियो।

नतिजा सार्वजनिक हुने निश्चित भएसँगै परीक्षार्थी, अभिभावक र शिक्षासम्बद्ध सरोकारवालामा नतिजा कसरी हेर्ने भन्ने चासो बढेको छ। बोर्डका अनुसार विद्यार्थीहरूले नतिजा वेबसाइट, एसएमएस, आईभीआर र यूएसएसडी सेवा मार्फत प्राप्त गर्न सक्नेछन्।

वेबसाइटमार्फत result.neb.gov.np, neb.gov.np तथा नेपाल टेलिकमको neb.ntc.net.np मा गएर नतिजा हेर्न सकिनेछ। त्यस्तै, मोबाइलबाट NEB <space> Symbol Number टाइप गरी १६०० मा पठाएमा एसएमएसमार्फत नतिजा प्राप्त हुनेछ।

आईभीआर सेवाअन्तर्गत नेपाल टेलिकमको १६०१ मा डायल गरेर प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिनेछ भने *१६०१# डायल गरी यूएसएसडी सेवा प्रयोग गरेर पनि नतिजा हेर्न सकिने छ।

बोर्डले सबै परीक्षार्थीलाई समयमै र सहज रूपमा नतिजा उपलब्ध गराउन आवश्यक प्रविधि र तयारी मिलाएको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार