सर्लाहीमा ५ किलो गाँजासहित एक युवक पक्राउ

२०८२ श्रावण १९, सोमबार १८:२३
सांकेतिक तस्बिर

सर्लाही – सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१५ स्थित बोहोरे डाँडाबाट प्रहरीले लागुऔषध गाँजा र मोटरसाइकलसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

प्रहरी चौकी परवानीपुरबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) दशरथ प्रसाद यादवको नेतृत्वमा गएको टोलीले चेकजाँच गर्ने क्रममा कालिन्जोरबाट परवानीपुरतर्फ आउँदै गरेको बा.प्र.०२–०३२ प ५९१२ नम्बरको आर १५ मोडेलको मोटरसाइकललाई नियन्त्रणमा लिएको हो।

मोटरसाइकलमा सवार दुई जना मध्ये पछाडिको सवारी प्रहरी देख्नेबित्तिकै हामफाली फरार भएका थिए। त्यसपछि गरिएको चेकजाँचका क्रममा मोटरसाइकल चालक लालबन्दी नगरपालिका–१४ निवासी २१ वर्षीय संजित घिसिङको झोलाबाट रातो प्लास्टिकमा बेरिएको अवस्थामा प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।

गाँजा, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी चौकी परवानीपुरमा राखिएको छ। घटनाको थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक (प्र.नि.) बिरेन्द्र सिंह जोहारीको नेतृत्वमा टोली खटिएको बताइएको छ।

पक्राउ परेका व्यक्तिको साथबाट बरामद गरिएको गाँजाको तौल ५ किलो ३३० ग्राम रहेको छ। प्रहरी अनुसार घटनास्थल परवानीपुर प्रहरी चौकीदेखि करिब दुई किलोमिटर उत्तरतर्फ पर्छ। फरार रहेको व्यक्ति भने हालसम्म फेला नपरेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार