सर्लाहीमा अनुदान माग्दै उखु किसानद्वारा टायर बालेर प्रदर्शन

२०८२ श्रावण २०, मंगलवार १७:३६

सर्लाही – सरकारले चालु आर्थिक वर्षदेखि उखुमा दिँदै आएको अनुदान कटौती गरेपछि उखु किसानले मंगलबारदेखि आन्दोलनको घोषणा गरेका छन्। सर्लाहीका तीन चिनी मिल हरिवनस्थित इन्दुशङ्कर, धनकौलस्थित अन्नपूर्ण र बगदहस्थित महालक्ष्मी चिनी मिल अगाडि किसानहरूले टायर बालेर प्रदर्शन गरेका हुन्।

उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै उखु अनुदान यथावत् राख्न माग गरेका छन्। २०६६ सालको आन्दोलनपछि सुरू गरिएको प्रति क्विन्टल ७० रुपैयाँको अनुदान रकम यो वर्ष ३५ रुपैयाँमा झार्ने सरकारको निर्णय प्रति किसानहरू आक्रोशित छन्। उनीहरूले तत्काल अघिल्लो वर्षको बाँकी एक अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिनुपर्ने माग पनि अघि सारेका छन्।

उखु किसान संघर्ष समितिका अनुसार यदि साउन महिनाभित्र माग पूरा भएन भने भदौ ८ गतेदेखि देशभरका किसान काठमाडौंको माइतीघरमा धर्ना बस्नेछन्। उनीहरुले किसानको सहभागितामा मूल्य निर्धारण प्रक्रिया अपनाउनुपर्ने र चिनी मिलसँग त्रिपक्षीय संवाद आवश्यक रहेको बताईएको छ।

सरकारका सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाइसकेको किसान पक्षले अब संवाद र निर्णयमा गम्भीरता देखाउन आग्रह गरेका छन्। अनुदान कटौतीको असरले किसानलाई उखु खेती छाड्न बाध्य बनाउने र अन्ततः चिनी अभावको संकट निम्तिने चेतावनी पनि दिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार