सर्लाही – आगामी भदौमा आयोजना हुने एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल)को दोस्रो संस्करणका लागि मधेश युनाइटेड टोलीले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ।
हरियो रङको प्रयोगसहित तयार पारिएको उक्त लोगोमा खेलकुद, संस्कृति र मधेशी गौरवको झल्को प्रस्तुत गरिएको टोलीले जनाएको छ। लोगोको केन्द्रमा राखिएको भलिबलको आकृतिले टोलीको प्रतिस्पर्धात्मक भावना र खेलमा समर्पण झल्काउँछ भने वरिपरि घुम्ने लहरहरूले गतिशीलता, ऊर्जा र तीव्रता प्रकट गर्छन्।

त्यहीँ माथिल्लो भागमा रहेको जानकी मन्दिरबाट प्रेरित मन्दिरको आकृतिले मधेशको धार्मिक र सांस्कृतिक पहिचानलाई समेटेको छ। टोलीका अनुसार, यो लोगो खेलकुद र संस्कृतिको संयोजन हो, जसले मधेशको मौलिकता तथा महिला भलिबलको पहिचानलाई एकसाथ जोड्ने प्रयास गरेको छ।
टोलीको संरचनामा पनि विविधता र अनुभव मिसिएको देखिन्छ। निरुता ठगुन्ना मार्की खेलाडीको रूपमा रहँदा आरती सुवेदी, कोपिला राना, सरस्वती कट्टेल, स्नेहा ठगुन्ना, उषा विस्ट, बबिता बोहोरा र बसन्ती साउद जस्ता खेलाडीहरूले टोलीलाई मजबुत बनाएका छन्। प्रशिक्षकको भूमिकामा कोपिला उप्रेती रहनेछिन् भने नीति शाह टोलीको ब्रान्ड एम्बेसडरका रूपमा आवद्ध भएकी छन्।
खेलाडी अक्सन सम्पन्न भइसकेको र तयारी तीव्र पारिएको यो अवस्थामा मधेश युनाइटेडले प्रस्तुत गरेको लोगोले केवल टोलीको पहिचान मात्र होइन, मधेशको समग्र प्रतिनिधित्व र महिला खेलकुदको सशक्त आवाजको रूपमा आफूलाई स्थापित गर्ने विश्वास लिइएको छ।





