एनपीएल अक्सन सूचीमा ‘सी क्याटेगोरी’मा गोडैताका परिमार्जन यादव

२०८२ श्रावण २२, बिहीबार २१:०६

गोडैता – नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार हुने नेपाल प्रिमियर लिग (एनपीएल) अक्सनका लागि १५० खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको छ।

जसमा सर्लाहीको गोडैता नगरपालिका–७ का प्रतिभाशाली खेलाडी परिमार्जन यादव ‘सी’ श्रेणीमा पर्न सफल भएका छन्। सूचीमा ८ खेलाडी ‘ए’ श्रेणीमा, ३५ खेलाडी ‘बी’ श्रेणीमा र १०८ खेलाडी ‘सी’ श्रेणीमा समावेश छन्।

यिनै खेलाडीहरूमध्येबाट ८ वटा टोलीहरूले कुल ३७ खेलाडी अक्सनमार्फत खरिद गर्नेछन्। परिमार्जनले हालै सम्पन्न यु–१६ प्रतियोगितामा नेपालको राष्ट्रिय टिमबाट मलेसियाविरुद्ध सेमिफाइनलमा ३५ बलमा ५९ रन बनाउँदै टिमलाई फाइनलमा प्रवेश गराएका थिए।

तीव्र र आक्रामक ब्याटिङ क्षमताका कारण उनी नेपाली क्रिकेट समर्थकको नजरमा परेका थिए। यसअघि गोडैतामै आयोजित मेयर कप क्रिकेट प्रतियोगितामा वडा नम्बर ७ बाट उत्कृष्ट प्रदर्शन गरेका परिमार्जनले मधेस प्रदेश यु–१६ टिमको कप्तानी सम्हाल्दै च्याम्पियन बनाएका छन्।

स्थानीय र राष्ट्रिय स्तरमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका परिमार्जनलाई एनपीएल फ्रेन्चाइज जनकपुर बोल्टले अक्सनमा किन्न सक्ने सम्भावना उच्च रहेको बताईन्छ। विशेषगरी उनी मधेस क्षेत्रकै खेलाडी भएकाले पनि टिमले स्थानीय प्रतिभालाई प्राथमिकता दिन सक्ने देखिएको छ।

यस्ता उदीयमान खेलाडीहरूको अक्सन सूचीमा समावेश हुनु स्थानीय स्तरको क्रिकेट विकास र खेलाडीको आत्मविश्वास वृद्धिको लागि सकारात्मक संकेत हो। यदि परिमार्जनले आगामी दिनमा पनि यस्तै प्रदर्शनलाई निरन्तरता दिए, निकट भविष्यमा राष्ट्रिय टिममा स्थान बनाउने बलियो सम्भावना रहेको जानकारहरू बताउँछन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार