मलंगवा – सर्लाही जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले गत आर्थिक वर्षमा ५१६ जना हराएका व्यक्तिहरूलाई फेला पार्न सफल भएको छ।सेवा केन्द्रका तथ्यांकअनुसार २०८१/०८२ सालमा हराएका ४६३ जनामध्ये १९९ महिला, २७ बालक, २२४ बालिका र १३ जना ज्येष्ठ नागरिक रहेका थिए।
तीमध्ये १८० महिला, २५ बालक, २०९ बालिका र १३ जना ज्येष्ठ नागरिक भेटिएका छन्। हाल पनि ३६ जना अझै बेपत्ता छन्। चालू आर्थिक वर्ष २०८२/०८३ को सुरुका केही महिनामा मात्रै २४ जना हराएको उजुरी दर्ता भएको छ। तीमध्ये ६ जना महिला, २ जना बालक र १६ जना बालिका छन्। तर अहिलेसम्म १ जना बालक मात्र भेटिएका छन् भने बाँकी २३ जना खोजीमा छन्।

उता, घरेलु तथा लैंगिक हिंसासम्बन्धी उजुरीमा समेत उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षमा घरेलु हिंसाका ६०६ र लैंगिक हिंसाका ५७५ गरी कुल १,१८१ उजुरी दर्ता भएका थिए। तीमध्ये १,०१९ उजुरी फर्छ्यौट भए पनि ७९ अझै समाधान हुन बाँकी छन्। ७० वटा उजुरीमा उजुरीकर्तासँग सम्पर्क हुन सकेको छैन। अदालतसम्म पुगेका उजुरी संख्या भने १३ मात्र हो।
२०८२/०८३ सालको सुरुका केही हप्तामै ८८ नयाँ उजुरी दर्ता भएका छन्, जसमा १२ घरेलु हिंसा र ७६ लैंगिक हिंसासम्बन्धी छन्। तर हालसम्म कुनै पनि उजुरी अदालतमा पुगेको छैन। स्थानीय सरोकारवालाहरूले हराएका व्यक्तिहरू खोजीमा प्रगति भए पनि घरेलु तथा लैंगिक हिंसाका मुद्दा टुंगो लगाउने प्रक्रियामा ढिलाइ हुनु चिन्ताको विषय भएको बताएका छन्।





