सर्लाही – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानतर्फ प्रस्थान गर्न लागेकी एक ब्राजिलियन महिलालाई प्रहरीको विशेष टोलीले करिब दुई किलो कोकिनसहित नियन्त्रणमा लिएको छ।
लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ परेकी २१ वर्षीया इमिली मिकाएले सान्टोस फेरेइरा ब्राजिलबाट दोहा हुँदै नेपाल आइपुगेकी थिइन्। प्रस्थान कक्ष बाहिर उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले तलासी गर्दा कालो ब्रा भित्र तरल अवस्थामा लुकाइ राखिएको १ किलो ९५० ग्राम कोकिन बरामद भएको हो।

प्रारम्भिक अनुसन्धानमा, उनले उक्त कोकिन ब्राजिलबाट ल्याई नेपालमार्ग हुँदै भुटान पुर्याउने योजना रहेको खुलासा भएको छ। बरामद गरिएको कोकिनको अन्तर्राष्ट्रिय बजार मूल्य करोडौं रुपैयाँ पर्ने अनुमान गरिएको छ।
उनविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार मुद्दा दर्ता गरिएकाे छ। काठमाडौं जिल्ला अदालतको अनुमति लिएर म्याद थप गरी हाल अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको ब्यूरोले जनाएको छ।





