सर्लाही – अविरल वर्षाले मधेस प्रदेशमा धान रोपाइँको गति बढेको छ। प्रदेश कृषि निर्देशनालयका अनुसार शुक्रबारसम्म प्रदेशभर ७२ प्रतिशत रोपाइँ पूरा भएको छ।
यस वर्ष ढिलो वर्षा भएकाले सुरुवाती चरणमा रोपाइँ सुस्त थियो। धनुषा, महोत्तरी, सिरहा, सप्तरी र रौतहटमा सिँचाइको अभावका कारण गत वर्षको तुलनामा रोपाइँ कम भएको थियो। तर पछिल्लो वर्षापछि ती जिल्लामा रोपाइँ फेरि बढेको वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवले बताए।

बारा र पर्सामा भने रोपाइँ शतप्रतिशत पुगेको छ। नारायणी सिँचाइ व्यवस्थापन कार्यालय (गण्डक) का सूचना अधिकारी सुरेश साहका अनुसार नहरमार्फत किसानलाई आवश्यक पानी आपूर्ति गर्न नियमित अनुगमन भइरहेको छ।
मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेपछि कृषि ज्ञान केन्द्रहरूले खेती प्रयोजनका लागि स्यालो ट्यूबवेल वितरण सुरु गरेका छन्। निर्देशनालयका अनुसार प्रदेशमा करिब ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा धान खेती हुने गर्छ।





