सर्लाही – श्रावण शुक्ल पूर्णिमाका दिन हिन्दू धर्मावलम्बीहरूले आस्थापूर्वक रक्षाबन्धन पर्व मनाइरहेका छन्। तिथिका आधारमा मनाइने यो चाडको मिति हरेक वर्ष फरक पर्छ। यस दिन हातमा बाँधिने ‘रक्षा बन्धन’लाई धार्मिक रूपमा सुरक्षा, आशीर्वाद र सत्कर्ममा स्थिर रहने संकल्पको प्रतीक मानिन्छ।
वैदिक मन्त्र “येन बद्धो वलीराजा दानवेन्द्रो महावलः, तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल” अनुसार, सत्ययुगमा देवगुरु बृहस्पतिले दानवद्वारा पीडित देवताहरूको रक्षा गर्न तयार गरेको रक्षा सूत्रले बलवान् दानव–राजा बलिलाई बाँधेर देवताहरूलाई सुरक्षित गरेका थिए। त्यही प्रसंगबाट प्रेरित भई आज पनि गुरु, पुरोहित वा अभिभावकले हातमा रक्षा सूत्र बाँध्ने परम्परा जीवित छ।

यसलाई दानवी शक्तिबाट जोगिन, मन विचलित नहोस्, सधैं सत्कर्मतर्फ आकर्षित रहोस् र धर्म–कानुनको मार्गमा जीवन संचालित होस् भन्ने कामनासहित बाँधिन्छ। जनविश्वासअनुसार, यस दिनको रक्षा सूत्रलाई तिहारमा गाईको पुच्छरमा बाँधिदिँदा मृत्यु पश्चात् वैतरणी नदी सहजै पार गर्न सकिन्छ। यसरी रक्षाबन्धन केवल धागोको गाँठो नभई आस्था, संरक्षण र धार्मिक प्रतिबद्धताको प्रतीकका रूपमा मनाइन्छ।





