सप्तरीमा बसको ठक्करबाट एक बृद्वको मृत्यु

२०८२ श्रावण २४, शनिबार १२:५०
सांकेतिक तस्बिर

सर्लाही – सप्तरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा बसको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार आज बिहान पश्चिमबाट पूर्वतर्फ गइरहेको ना.प्र.१–०१–००१ ख ४५६० नम्बरको बसको ठक्करबाट स्थानीय सीतापुर निवासी ६८ वर्षीय बुदुर चौधरीको मृत्यु भएको हो।

साइकलमा सवार उनलाई पछाडिबाट उक्त बसले ठक्कर दिएको हो। घटनास्थलमै चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। धानखेततर्फ जाँदै गरेका चौधरीलाई ठक्कर दिने बस र चालक दुवै हाल प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनापछि मृतकका आफन्त र स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गको चाँदनी चोक खण्डमा अवरोध गरेका छन्। बिहानैदेखि सुरु भएको अवरोधका कारण सयौँ सवारीसाधन थन्किएका छन् र हजारौँ यात्रु बाटोमै अलपत्र परेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार