मलंगवा – सर्लाहीमा खोलामा डुबेर किशोरीको मृत्यु भएको छ। जिल्लाको बलरा नगरपालिका–६ मिर्जापुरकी १६ वर्षीया रंगिला कुमारी बैठाको खोलामा डुबेर मृत्यु भएको हो।
प्रहरीका अनुसार आज (शनिबार) साँझ करिब ४:४५ बजे घाँस काटेर घर फर्कने क्रममा पुरानो मनुसमारा खोला तर्ने बेलामा उनी खुट्टा चिप्ली लडेर जलकुन्भीमा टाउको फस्दा खोलामा डुबेकी थिइन्। घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी चौकी अर्नाहाबाट टोली खटिएको थियो।

त्यसपछि घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान तथा मुचुल्का कार्य सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएको इलाका प्रहरी कार्यालय गडहियाका प्रहरी निरीक्षक उज्जवल कार्कीले जानकारी दिए। मनुसमारा खोलास्थल घटनास्थल इलाका प्रहरी चौकी अर्नाहाबाट करिब ३ किलोमिटर उत्तरतर्फ पर्छ।





