सर्लाही प्रशासनको सबै सेवा आज बन्द, भोलीदेखि नयाँ भवनबाट

२०८२ श्रावण २५, आईतवार ०८:२४

सर्लाही – जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज आइतबार एक दिनका लागि सबै सेवा बन्द गरेको छ। कार्यालयले भर्खरै सम्पन्न भएको आफ्नै नयाँ भवनमा कागजात तथा आवश्यक सामग्री सारेर व्यवस्थापन गर्नुपर्ने भएकाले सेवा स्थगित गरिएको हो।

यसबारे कार्यालयले दुई दिनअघि नै सार्वजनिक सूचना जारी गरेको थियो। प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार, भवन निर्माण पूरा भएसँगै भोलीदेखि नयाँ भवनबाट सबै सेवा उपलब्ध हुनेछन्।

भवन निर्माणको अवधिमा प्रशासनको काम पूर्वाधार विकास कार्यालयको भवनबाट सञ्चालन हुँदै आएको थियो। नयाँ भवनमा केही समयदेखि राष्ट्रिय परिचयपत्र वितरणको काम भने निरन्तर चल्दै आएको थियो।

शुक्रबारदेखि नै फाइल तथा अन्य सामान स्थानान्तरणको कार्य सुरु गरिएको र अब प्रशस्त तथा व्यवस्थित ३ तले भवनबाट सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ। साथै, नयाँ भवनको औपचारिक उद्घाटन भदौको पहिलो सातामा गृह मन्त्री रमेश लेखकद्वारा गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार