सर्लाही – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भण्डारण गरिरहेको रासायनिक मलको विवरण सार्वजनिक गरेका छन्। उनले कृषकलाई खेतीपातीको समयमा मलको कमी नहोस् भनेर विशेष व्यवस्था गरिएको बताएका छन्।
प्रधानमन्त्रीका अनुसार हाल देशभर तत्काल प्रयोगका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ। साथै, थप १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आपूर्ति प्रक्रियामा रहेको जानकारी उनले दिएका छन्।

कृषि सामग्री कम्पनीमा अहिले २९ हजार १११ मेट्रिक टन मल उपलब्ध छ। यसमा युरिया १६,५३९ मेट्रिक टन, डिएपी ७,६५३ मेट्रिक टन र पोटास ४,९१५ मेट्रिक टन छन्।
त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात रहेको छ। यसमा युरिया १०,९८४ मेट्रिक टन, डिएपी ९४२ मेट्रिक टन र पोटास १,७८५ मेट्रिक टन छन्।
प्रधानमन्त्री ओलीले कतै मलको अभाव देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गर्दै भने, “यो वर्ष मलको अभाव हुन दिने छैनौं, खेतबारी हराभरा बनाउन सबै मिलेर लागौं।”





