समुद्री आक्रमणका लागि टर्कीको नयाँ हतियार, ‘तालाय’ स्किमिङ ड्रोन

२०८२ श्रावण २६, सोमबार ०९:४१

जनकपुर – टर्कीले विश्वकै पहिलो समुद्री सतह नजिक उड्ने स्किमिङ ड्रोन सार्वजनिक गरेको छ, जसको नाम ‘तालाय’ राखिएको छ।

अंकारास्थित ‘सोलिड एरो’ कम्पनीले विकास गरेको यो ड्रोन समुद्रको सतहबाट मात्र करिब ३० सेन्टिमिटर (१ फिट) माथि उड्ने क्षमता राख्छ। कम्पनीका अनुसार, यो विङ-इन-ग्राउन्ड प्रविधि र कम उचाइमा उड्ने ड्रोन प्रविधिको संयोजन हो, जुन विशेष रूपमा समुद्री आक्रमण र जासूसी अभियानका लागि डिजाइन गरिएको छ।

कम उचाइमा उड्ने क्षमताले ‘तालाय’लाई शत्रु राडारको दृष्टिबाट लगभग लुकाइदिन्छ, जसका कारण यसले विवादित वा संवेदनशील समुद्री क्षेत्रमा सजिलै घुसपैठ गर्न सक्छ। यो ड्रोन शत्रु बन्दरगाहमा आक्रमण, जासूसी कार्य र छिटो प्रतिक्रिया आवश्यक पर्ने समुद्री मिशनहरूमा प्रभावकारी मानिन्छ। यसको फोल्डिङ पखेटा प्रणालीले उडानको दिशा चाँडै परिवर्तन गर्न सक्ने बनाउँछ, जसले यसलाई खसाल्न कठिन बनाउँछ।

हल्का तौल, कम राडार क्रस-सेक्सन र स्टेल्थ डिजाइनका कारण ‘तालाय’ शत्रु राडारमा लगभग अदृश्य रहन्छ। कम्पनीका संस्थापक सेल्कुक फिरातका अनुसार, यसको विशेष पखेटा संरचनाले समुद्रको सतहसँगै उडान गर्न सजिलो बनाउँछ, जसले यसलाई कम उचाइमा आक्रमण गर्न सक्षम केही युएभीहरूमा गणना गरिन्छ।

२.६० मिटरको पखेटा फैलावट र २ मिटरको लम्बाइ भएको यस ड्रोनको क्रूजिङ उचाइ ३–५ मिटर र अधिकतम उचाइ १५० मिटरसम्म पुग्छ। ३० किलोग्रामसम्मको पेलोड बोकेर पनि यसले उत्कृष्ट प्रदर्शन गर्न सक्छ। यसमा उन्नत सेन्सर र साना एन्टी-शिप मिसाइलहरू समेत जडान गरिएको बताइएको छ, जसले समुद्री सुरक्षामा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार