सर्लाही – नेपाल – भारत सीमावर्ती क्षेत्रमा तस्करी र भन्सार छली नियन्त्रण गर्न सशस्त्र प्रहरीले सुरक्षा सतर्कता बढाएपछि गत आर्थिक वर्षमा पाँच करोड भन्दा बढीका अवैध सामान बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल रौतहटका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्रै भन्सार छलेर ल्याइएका विभिन्न सामान गरी करिब पाँच करोड ७४ लाख रुपैयाँ मूल्य बराबरका वस्तु नियन्त्रणमा लिएर सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको हो।

सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतका अनुसार, दक्षिणी सीमा क्षेत्रमा रहेका पाँच ‘बोर्डर आउटपोष्ट’ र आठ सुरक्षा बेस क्याम्पमार्फत् नियमित गस्ती, निगरानी र कारबाहीलाई तीव्रता दिइएको छ। यसकै परिणामस्वरूप बरामद हुने सामानको मात्रा अघिल्ला वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको उनले बताए।
बरामद भएका वस्तुमध्ये २ करोड ४८ लाख रुपैयाँभन्दा बढी मूल्यका किराना, कस्मेटिक, लत्ताकपडा, मोटर पार्ट्स लगायतका वस्तु छन्। त्यसैगरी, एक–एक थान स्कोरपियो, सफारी, बोलेरो, म्याजिक गाडी, अटोरिक्सा र १८० वटा मोटरसाइकलसमेत बरामद गरी गौर भन्सार कार्यालयमा बुझाइएको छ।
यसबाहेक, ४८ लाख रुपैयाँभन्दा बढी नेपाली रुपैयाँ र ९ लाख ४९ हजारभन्दा बढी भारतीय रुपैयाँ स्रोत नखुलेको अवस्थामा बरामद गरिएको छ। वन तस्करी नियन्त्रणको क्रममा ६९३ क्युफिट काठ बरामद गरी डिभिजन वन कार्यालयमा हस्तान्तरण गरिएको छ।
मदिरा ४०६ कार्टुन (करीब ५ लाख ५१ हजार रुपैयाँ मूल्य), ८५० किलो माछा, १ हजार २४९ किलो बोइलर कुखुरा, १६ वटा गाई भैंसी तथा पाडापाडी, र ४ लाख रुपैयाँभन्दा बढी मूल्यका पटका पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।





