तीन वर्षमै सक्ने भनिएको कमला नदीको पुल १४ वर्षमा पनि अधुरो

२०८२ श्रावण २६, सोमबार ११:३६

सर्लाही – सिरहा र धनुषालाई जोड्ने कमला नदीमाथिको पक्की पुल १४ वर्षपछि पनि निर्माण सम्पन्न हुन सकेको छैन। विसं २०६८ मा सुरु गरिएको ४६९ मिटर लामो यो पुल तीन वर्षमै सक्ने योजना थियो, तर लामो समय बितिसक्दा पनि अधुरै छ, जसका कारण स्थानीयवासी वर्षौंदेखि सास्ती भोगिरहेका छन्।

पुल नबन्दा आवतजावतका लागि स्थानीयले बाँस वा काठको अस्थायी संरचनामा भर पर्नुपर्छ। यस वर्ष साउनको तेस्रो हप्तामा आएको बाढीले बाँसको पुल बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। हाल काठको अस्थायी पुल बनाएर यात्रा सुरु भए पनि दुर्घटनाको खतरा यथावत् छ।

सिरहा–६ का स्थानीय प्रवीण यादवका अनुसार, पुल नहुँदा पैदलयात्रु मात्र नभई मोटरसाइकल यात्रु पनि ठूलो जोखिम खेप्न बाध्य छन्। उनले भने, “यात्रा जोखिमपूर्ण मात्र छैन, यात्रुहरूमाथि मनपरी शुल्क असुल्ने गरिएको छ। नगरपालिकाले निःशुल्क दाबी गरे पनि व्यवहारमा ५० रुपैयाँसम्म तिर्नुपरेको छ।”

यो पुलको ठेक्का सुरुमा पप्पु–लुम्बिनी जेभीलाई दिइएको थियो। तर पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी बिल्डर्सले लिएको हो। गत महिना आएको बाढीले दुई पाया भासिएपछि, आवश्यक मर्मतका लागि बिमा रकम नपाएको कारण देखाउँदै कम्पनीले काम रोकिदिएको छ।

हुलाकी राजमार्ग निर्देशनालय, जनकपुरका सूचना अधिकारी इञ्जिनियर रञ्जितकुमार रायका अनुसार, निर्माण कम्पनीले तोकिएको म्यादमै काम नगरेकाले लुम्बिनी बिल्डर्सलाई समेत कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको छ।

सिरहा–६ का वडाध्यक्ष इन्द्रजित यादव भन्छन्, “पुल नहुँदा बाढीपछि मानिसहरू बाँसको भर्‍याङ चढेर वा डुङ्गाको सहाराले नदी पार गर्न बाध्य छन्।” अधुरो पुलको कारण वर्षायाममा स्थानीयका लागि कमला नदी पार गर्नु हरेक वर्षको पीडादायी चुनौती बनेको छ। – रासस

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार