सर्लाहीमा मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, दुई छोरासहित चार जना घाइते

२०८२ श्रावण २६, सोमबार १९:५६
एक आपसमा ठोक्किँएका मोटरसाइकल (फाईल तस्बिर)

सर्लाही – सर्लाहीको बागमतीमा आज दुई वटा मोटरसाइकल ठक्कर ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बागमती नगरपालिका–१२, बागमती पुलदेखि भरत ताल जाने सडकखण्डमा मधेश प्रदेश नं. ०३–०३१ प ४९२३ र ज ११ प ५५०५ नम्बरका मोटरसाइकलहरू एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा बारा कोल्हवी नगरपालिका–९ घर भएकी ४२ वर्षीया इनरवती चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उनी सवार मोटरसाइकलमा उनका दुई छोराहरू ३२ वर्षीय दीपक चौधरी र २८ वर्षीय रामरूप चौधरी घाइते भएका छन्।

घाइतेहरूलाई तत्काल चन्द्रनिगाहपुर अस्पताल लगिएको थियो जहाँ इनरवतीको मृत्यु भइसकेको थियो। पूर्वपश्चिम राजमार्गबाट भरत तालतर्फ जाँदै गरेका मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको बताइएको छ।

ठक्कर दिने मोटरसाइकलको चालक २० वर्षीय विशाल महतो (ईश्वरपुर नगरपालिका–९ निवासी) र सोही मोटरसाइकलमा सवार २० वर्षीय प्रेमकुमार भगत (भारत मुजफ्फरपुर जिल्ला, मिनापुर ग्रामपञ्चायत–१० निवासी) घाइते भएका छन्।

उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि इलाका प्रहरी कार्यालय कर्मैयाको हिरासतमा राखिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार