जनकपुरमा वकिलले गरे पत्रकारहरुमाथि हातपात, पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्षसहित ४ जना घाइते

२०८२ श्रावण २७, मंगलवार १७:४९

सर्लाही – जनकपुरधाममा वकिल र पत्रकारबीचको विवाद हातपातसम्म पुगेको छ। मंगलबार नेपाल बार एशोसिएसनमा आवद्ध वकिलहरूले नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बनजारा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ लगायतका पत्रकारमाथि आक्रमण गरेका हुन्।

घटनामा अध्यक्ष बनजारा, महासचिव क्रान्ति, पत्रकार दिवाकर राय र अनिलकुमार निराला घाइते भएका छन्। महासचिव क्रान्तिले आफ्नो पैतालाको हड्डी भाँचिएको बताएका छन्।

उनका अनुसार पत्रकार महासंघ मधेश प्रदेशले गुठी संस्थानबाट २० वर्षका लागि लिजमा लिएको चार कट्ठा जग्गामा तारबार लगाउने क्रममा वकिलहरूले आपत्ति जनाउँदै आक्रमण गरेका हुन्। महासंघ उक्त जग्गामा प्रदेश समिति भवन निर्माण गर्ने तयारीमा थियो। तर वकिलहरूले त्यो भू–भाग आफ्नो पार्किङ क्षेत्र भएको दाबी गरेका छन्।

महासचिव क्रान्तिका अनुसार साउन १९ गते महासंघ र गुठी संस्थानबीच औपचारिक सम्झौता भएको हो। यसअघि जेठ ७ गते गोरखापत्रमा तीनवटा जग्गाको लिजका लागि सूचना प्रकाशित भएको थियो।

विभिन्न संघ संस्थाले प्राविधिक र आर्थिक प्रस्ताव पेस गरे पनि अन्ततः पत्रकार महासंघको प्रस्ताव स्वीकृत भएको थियो। त्यसपछि गुठी संस्थानले साउन २ गते गोरखापत्रमार्फत लिज स्वीकृत भएको सूचना सार्वजनिक गरेको र साउन ९ गते सम्झौताको पत्र पठाएको उनले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार