सर्लाही – पर्साको वीरगन्ज कारागारमा रहेका एक कैदीको मृत्यु भएपछि उत्पन्न विवादका बीच जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा बनेको समितिमा प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्साल, वीरगन्ज महानगर–२५ का वडा सदस्य जगदीश साह तुराहासहित अन्य दुई सदस्य छन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न प्रशासनले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

गत मंगलबार नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज महानगरपालिका–२५ निवासी कैदी राहुल साहको मृत्यु भएको थियो। उपचारमा लापरबाही भएको भन्दै मृतकका आफन्तले टायर बालेर सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए।
प्रशासनले आफन्तसँग छलफल गरी निष्पक्ष छानबिनको आश्वासन दिएपछि स्थिति सामान्य बनेको हो। कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई तीन वर्षदेखि जेल सजाय भोग्दै आएका साहलाई अदालतले २५ वर्ष कैद सजाय सुनाएको थियो।





