सर्लाहीमा निरन्तर झरी: खेतमा हरियालि, यातायात र यात्रा चुनौतीपूर्ण

२०८२ श्रावण २८, बुधबार १२:११
सांकेतिक तबिर

लालबन्दी – सर्लाहीमा आज बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ। हिजो दिनभर घाम लागेको भए पनि साँझपखदेखि मौसम फेरिएर फेरि पानी पर्न सुरु भएको हो। बिहानको समयमा चुरेवर्ती इलाकादेखि पूर्व–पश्चिम राजमार्ग र सदरमुकाम मलंगवा हुँदै दक्षिणी क्षेत्रसम्म पानी पर्ने क्रम जारी छ।

तराईका अधिकांश जिल्लामा करिब दुई सातादेखि यस्तै निरन्तर वर्षा भइरहे पनि, यसपटकको पानीले ठूलो बाढी वा जनधनको क्षति भने गरेको छैन। हल्का तर लगातार पर्ने वर्षाले बाँकी रहेको खेतमा धान रोपाइँ जारी छ भने पहिले रोपिएको धान हरियो फुल्दै गाँज हालिसकेको छ।

यद्यपि, वर्षाले दैनिक जीवनमा केही असुविधा भने ल्याएको छ। कच्ची तथा धुलो सडकमा पानी जमेर हिँडडुलमा समस्या परेको छ। पूर्व–पश्चिम राजमार्गसहित कालोपत्रे सडकमा पिच उखेलिँदा खाल्डाखुल्डी बढेर सवारी साधन बिग्रने र दुर्घटनाको जोखिम बढेको चालकको गुनासो छ। चुरे क्षेत्रमा बाटो अभावका कारण खोलाबाट आवतजावत गर्नुपर्ने स्थानीयहरू अझ बढी प्रभावित भएका छन्।

वर्षाको यो क्रम केवल सर्लाहीमै सीमित छैन। गएराति देशभर पानी परेको छ। कोशी प्रदेशका झापा र उदयपुरमा ठूलो वर्षा मापन गरिएको छ—झापामा ८०.४ मिमि र उदयपुरमा ६६.८ मिमि। लुम्बिनी प्रदेशको बाँके, सुदूरपश्चिमको डोटीमा पनि भारी वर्षा भएको छ, जबकि इलाम, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, नुवाकोट, दाङ, रुकुमपश्चिम, सुर्खेत र बझाङमा हल्कादेखि मध्यम वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाले नदी किनार, डुबान क्षेत्र र पहिरो सम्भावित स्थानमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाका अनुसार आज पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ, र मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही भागमा ठूलो पानी पर्ने सम्भावना छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार