जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच बिहीबार कार्यगत एकता घोषणा हुने

२०८२ श्रावण २८, बुधबार १४:०६

सर्लाही – अशोक राईको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता हुने भएको छ। जसपाका एक नेताका अनुसार यसका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ र बिहीबार विशेष कार्यक्रममार्फत औपचारिक घोषणा गरिनेछ।

जसपा २०८१ साल वैशाखमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भई गठन भएको हो र हाल सरकारमा सहभागी छ। उता राजेन्द्र महतोले २०८० फागुनमा लोसपाबाट छुट्टिएर राष्ट्रिय मुक्ति क्रान्ति अभियान सुरु गरेका थिए, जसलाई २०८१ असोजमा औपचारिक रूपमा राष्ट्रिय मुक्ति पार्टी नेपालमा रुपान्तरण गरेका थिए।

दुवै पार्टी पहिचान र अधिकारका मुद्दामा लामो समयदेखि सक्रिय छन्। यही साझा उद्देश्यका कारण दुवैबीच कार्यगत एकता गर्न लागिएको बताइएको छ। यद्यपि महतोको पार्टी सङ्घीय लोकतान्त्रिक मोर्चामा आबद्ध भए पनि जसपा भने सो मोर्चामा छैन। प्रारम्भिक चरणमा मोर्चा गठनका लागि जसपाले पनि गृहकार्य गरे पनि अन्तिम घोषणा हुनुअघि पार्टी त्यसबाट अलग भएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार