सर्लाही – यस वर्ष मनसुन अवधिमा पर्याप्त वर्षा नपरेको र सिंचाइको सुविधा अभावका कारण मधेसमा अझै १८ प्रतिशत धान रोपाइँ हुन सकेको छैन। गत वर्षको यसै समयसम्म सम्पूर्ण रोपाइँ सकिएको भए पनि यस वर्ष किसानहरू अझै आकाशे पानीको पर्खाइमा छन्।
कृषि विकास निर्देशनालय मधेसका अनुसार प्रदेशभर धान रोपाइँ हुने ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमध्ये हालसम्म २ लाख ८५ हजार २ सय ३४ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ। वरिष्ठ वागवानी विकास अधिकृत प्रदीप यादवले साउन सकिनै लाग्दा रोपाइँको दर ८२ प्रतिशत पुगेको बताए।

जिल्लागत हिसाबले हेर्दा बारामा ९५ प्रतिशत, पर्सामा ९२ प्रतिशत र रौतहटमा ८६ प्रतिशत रोपाइँ भइसकेको छ। तर सिरहा र धनुषामा ७० प्रतिशत, सप्तरीमा पनि ७० प्रतिशत मात्र रोपाइँ भएको छ।
सर्लाहीमा यो दर ६५ प्रतिशतमा सीमित छ भने महोत्तरीमा झन् कम, ६१.५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ। विशेषज्ञहरूका अनुसार समयमै पर्याप्त वर्षा नपर्ने हो भने बाँकी खेतमा रोपाइँ ढिलो हुने र यसले यस वर्षको धान उत्पादनमा प्रत्यक्ष असर पार्ने सम्भावना उच्च छ।





