मधेशको पानी संकटबारे भारतको चासो

२०८२ श्रावण २९, बिहीबार ०९:१४

सर्लाही – मधेश प्रदेशमा बढ्दो भूमिगत पानी अभाव र दीर्घकालीन जलस्रोत व्यवस्थापनका चुनौतीलाई सम्बोधन गर्न भारतले प्रत्यक्ष पहल थालेको छ। भारतको जलशक्ति मन्त्रालयका तीन सदस्यीय प्राविधिक टोलीले बिहीबार बिहान प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग सिंहदरबारस्थित उनको कार्यकक्षमा भेटवार्ता गरेको हो।

भेटका क्रममा भारतीय टोलीले भूमिगत पानीको वास्तविक स्थिति पत्ता लगाउन विस्तृत अध्ययन गर्ने योजना प्रस्तुत गर्यो। यस अन्तर्गत, प्रदेशका विभिन्न जिल्लामा स्थलगत निरीक्षण, पानीको स्तर मापन, मौसमी प्रभाव मूल्यांकन, र दीर्घकालीन जल संरक्षण रणनीति तयार गर्ने तयारी गरिएको छ।

प्रतिनिधिमण्डलमा जलशक्ति मन्त्रालयका प्राविधिक विज्ञ आशिष पाण्डे, जगदम्बा प्रसाद र प्रसान्त राय रहेका छन्। उनीहरूले प्रारम्भिक छलफलमै भूमिगत पानीको तीव्र घट्दो स्तर, कृषि र खानेपानी आपूर्तिमा देखिएको असर, तथा वर्षेनी बढ्दो मागलाई सम्बोधन गर्ने उपायबारे धारणा राखेका थिए।

मुख्यमन्त्री सिंहले टोलीको प्रयासलाई प्रदेशका लागि महत्त्वपूर्ण अवसरका रूपमा लिँदै, यसले दिगो पानी व्यवस्थापन र भू–जल संरक्षणको आधार तयार गर्ने विश्वास व्यक्त गरे। उनले जलस्रोत संरक्षणलाई प्रदेश सरकारको प्राथमिकतामा राखेको र भारतीय टोलीसँगको सहकार्यले दीर्घकालीन समाधानमा मद्दत पुर्‍याउने बताए।

स्रोतका अनुसार भारतीय टोलीले यस भ्रमणपछि विस्तृत प्रतिवेदन तयार पार्नेछ, जसमा प्रविधि, नीति तथा जनस्तरमा लागू गर्न सकिने सिफारिसहरू समावेश हुनेछन्। यस प्रतिवेदनलाई प्रदेश सरकारले आफ्नो आगामी नीति र योजनामा समावेश गर्ने तयारी गरिरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार