किसानलाई वितरण नगरी घरमा लुकाएर राखिएको १९१ बोरा अनुदानको मल बरामद

२०८२ श्रावण २९, बिहीबार १०:३८
फाईल तस्बिर

सर्लाही – पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ कटेया गाउँमा किसानलाई वितरण गर्न पठाइएको सरकारी अनुदानको रासायनिक मल ठूलो मात्रामा घरमै लुकाएर राखिएको भेटिएको छ। बुधबार मध्यरातमा प्रहरीले दुई घरमा छापा मार्दा १९१ बोरा मल बरामद गरेको हो।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको संयुक्त टोलीले साह महमद अन्सारी र युनुस अन्सारीको घरमा गरिएको छापामा डीएपी, पोटास र फस्फोटसहित विभिन्न किसिमका मल भेटिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले जानकारी दिए।

अनुसार, साह महमद अन्सारीको घरबाट डीएपी ९ बोरा, पोटास १८ बोरा र फस्फोट ११४ बोरा बरामद भयो भने युनुस अन्सारीको घरबाट डीएपी २७ बोरा र पोटास २३ बोरा पाइएको हो। दुवै घरबाट संकलन गरिएको १९१ बोरा मल जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

प्रहरीका अनुसार, उक्त मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमार्फत किसानलाई वितरण गर्न पठाइएको थियो तर महँगो मूल्यमा बेच्ने उद्देश्यले अवैध रूपमा भण्डारण गरिएको आशंका छ। दुवै घरधनी हाल फरार छन् र उनीहरूको खोजी भइरहेको प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।

हाल पर्सामा धानबालीका लागि मलको तीव्र अभाव छ। पर्याप्त मल आयात हुन नसक्दा र वितरणमा अनियमितता बढ्दा किसान मारमा परेका छन्। मल आपूर्ति र वितरणमा देखिएको समस्या समाधानका लागि प्रजिअ अर्यालले केही दिनअघि नै जिल्लाभित्रका कृषि सहकारी, स्थानीय तहका उपप्रमुख र कृषि शाखा प्रमुखलाई बोलाएर पारदर्शी वितरणको निर्देशन दिएका थिए।

त्यसकै आधारमा खटिएको अनुगमन टोलीले यो ठूलो मात्राको मल बरामद गरेको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार