शिक्षिका आत्माहत्या प्रकरण: पक्राउ परेका मिटरब्याजीलाई चार लाख धरौटीमा रिहा गर्न आदेश

२०८२ श्रावण २९, बिहीबार १०:४६
मृतक शिक्षिका विमला कुमारी ध्रोङचिङ मगर

सर्लाही – धनुषा जिल्ला अदालतले आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका जनकपुरधाम उपमहानगरपालिका–९ का मिटरब्याजी राजकिशोर यादवलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। बुधबार न्यायाधीश ईश्वर आचार्यको इजलासले यादवलाई चार लाख रुपैयाँ धरौटीबापत थुनामुक्त गर्न आदेश दिएको हो।

यद्यपि, यादवमाथि अनुचित लेनदेनसम्बन्धी अर्को मुद्दा दायर भएकाले तत्काल रिहा हुन सकेका छैनन्। आज उक्त मुद्दाको पहिलो पेसी अदालतमा सुरु भएको छ। प्रहरीले यादवलाई साउन २ गते आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ गरी अनुसन्धान थालेको थियो।

उनको घरबाट प्रहरीले ९ वटा तमसुक, २३ वटा जग्गाधनी लालपुर्जा र विभिन्न बैंकका चेक बरामद गरेको थियो। मामिला गत असार ३२ गतेको घटनासँग सम्बन्धित छ। मिथिला नगरपालिका–८ की ३४ वर्षीया विमला कुमारी ध्रोङचिङ मगरको घरमा पुगेका यादवले गालीगलौज र जेल हाल्ने धम्की दिएको प्रहरीले जनाएको छ।

सो घटनाको भोलिपल्ट विमलाले यादवको नाम उल्लेख गर्दै ‘सुसाइड नोट’ छोडी आत्महत्या गरेकी थिइन्। अदालतको आदेशप्रति पीडित परिवार असन्तुष्ट देखिएको छ। मृतक विमलाकी सासू चन्दुमाया मगरका अनुसार, यादवले जबर्जस्ती लिएका पाँचवटा चेक र बढी असुली गरेको रकमबारे अदालतले कुनै टिप्पणी नगरेको हो।

उनले फोरेन्सिक रिपोर्टमा समेत प्रहरीले ढिलाइ गरिरहेको आरोप लगाइन्। ‘सुसाइड नोटको रिपोर्ट अझै आएको छैन। प्रहरी ढिलो गरिरहेको छ,’ चन्दुमायाले भनिन्, ‘प्रमाण आउनुअघि अभियुक्तलाई छुटाउनु भनेको उसको मनोबल बढाउनु र प्रमाण नष्ट गर्ने अवसर दिनु हो।’

मृतक विमला शिक्षिका थिइन्। उनि अध्यापन गराउने मिथिला नगरपालिका-८ जमुनिबासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयको बाल विकास कक्षा कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार