सर्लाही – सरकारले चालु आर्थिक वर्षका लागि वर्षे धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि गरेको छ।
मन्त्रिपरिषद्को हालै सम्पन्न बैठकले मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६२८ रुपैयाँ निर्धारण गरेको हो। गत वर्ष यो दर क्रमशः मोटा धानका लागि ३ हजार ४१० रुपैयाँ र मध्यम धानका लागि ३ हजार ५८० रुपैयाँ तोकिएको थियो।

यसअघि, फागुन २९ गते सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य पनि तोकेको थियो। त्यतिबेला १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ६९ रुपैयाँ तोकिएको थियो।
१८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको मूल्य निर्धारण गर्दा भने अतिरिक्त १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २ सय ग्राम बराबर तौल घटाएर दर कायम गर्ने व्यवस्था गरिएको थियो।





