तराईका जिल्लामा बढ्यो जापानिज इन्सेफलाइटिस, सतर्कता अपनाउन सुझाव

२०८२ श्रावण २९, बिहीबार १३:२७

सर्लाही – तराईका जिल्लाहरूमा जापानिज इन्सेफलाइटिस (JE) का केस बढ्दै गएपछि स्वास्थ्य विशेषज्ञहरूले सतर्क रहन सुझाव दिएका छन्। लामखुट्टेको टोकाइबाट सर्ने यो रोग धेरै गम्भीर हुन सक्छ।

विशेषज्ञहरूका अनुसार, यो रोग सबै उमेर समूहका मानिसमा लाग्न सक्छ, तर १५ वर्षमुनिका बालबालिकामा बढी देखा पर्छ। साथै, हाँस, कुखुरा जस्ता चराचुरुंगी र सुँगुर–बंगुरजस्ता जनावरमा पनि लामखुट्टे संक्रमण देखिन्छ। संक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि रोग सर्न सक्छ।

साउनदेखि कात्तिकसम्म बढी देखा पर्ने यो रोग मानिसबाट मानिसमा सर्दैन। जापानिज इन्सेफलाइटिसमा उच्च ज्वरो, टाउको दुखाइ, बेहोसी, घाँटी कडापन, शरीर कम्पन, पक्षघातजस्ता लक्षण देखिन्छ। समयमै उपचार नपाए मृत्युसमेत हुनसक्छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार तराईका जिल्लाबाट बिरामी उपचारका लागि काठमाडौं आउँछन्। उपचारपछि पनि कतिपयमा स्नायुसम्बन्धी अपांगता रहन सक्छ।

नेपालमा सन् २००५ देखि जापानिज इन्सेफलाइटिसविरुद्धको खोप उपलब्ध भएपनि पछिल्ला वर्षमा संक्रमण दर बढेको भन्दै डा. पुनले सरकारलाई रोकथाम र नियन्त्रणमा चनाखो रहन सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार