आर्यघाटको शवबाट निकालिएको हड्डी खरिद गरेको आरोपमा सर्लाहीका एकसहित दुई जना पक्राउ

२०८२ श्रावण २९, बिहीबार १४:१७

सर्लाही – पशुपति आर्यघाटमा जलिरहेको शवबाट हड्डी र खरानी निकालेर अवैध रूपमा किन बेच गर्ने घटनामा संलग्न भएको आरोपमा थप सर्लाहिका एकसहित दुई जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का स्थायी बासिन्दा तथा हाल बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीको बलानबिहुल गाउँपालिका–६ का स्थायी निवासी तथा हाल काठमाडौं महानगरपालिका–७ गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव छन्।

रामनन्दन ठाकुरलाई हड्डी र खरानी खरिद गर्ने मुख्य व्यक्ति मानिएको छ भने मिश्रीलाल यादव यस कारोबारमा सहयोगीको भूमिकामा रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ। ठाकुरको साथबाट प्लास्टिकमा प्याक गरिएको अवस्थामा हड्डीको धुलो र खरानी जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीको दाबी छ।

यसअघि पनि सोही घटनामा संलग्न रहेको आरोपमा गणेशप्रसाद ढकाल (उर्फ जीवनाथ ढकाल) र विनायक मैनाली पक्राउ परेका थिए। उनीहरूले २३ साउन दिउँसो पशुपति आर्यघाट–२ नम्बर चितामा जल्दै गरेको शवबाट हड्डीसहितको खरानी निकालेर बिक्री गरेको आरोप लागेकाे थियो। हाल उनीहरू प्रहरी वृत्त गौशालाको हिरासतमा राखी अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार