सर्लाही – सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत थापासहित दुई कर्मचारीलाई नदीजन्य पदार्थको हिनामिना प्रकरणमा विशेष अदालतले कडा सजाय सुनाएको छ। बिहीबार अदालतले मेयर थापा, अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई जनही ८ वर्ष कैदको सजाय तोकेको हो।
अदालतको इजलासमा अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाले साउन २१ गते नै तीनै जनालाई दोषी ठहर गरिसके पनि सजाय निर्धारण बिहीबार मात्र भएको हो।

फैसाला अनुसार तिनीहरूलाई जनही १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ १३ पैसाका दरले बिगो असुलउपर गरिनेछ। साथै, पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ रुपैयाँ ९७ पैसा जम्मा गराउनुपर्ने आदेश पनि दिइएको छ।
अदालतले उनीहरूले ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य सामग्री हिनामिना गरी भ्रष्टाचार गरेको प्रमाणित भएको जनाएको छ। यसअघि, विशेष अदालतले मेयर थापालाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा एक वर्ष कैद र तीन करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ बराबरको जरिवाना तोकेको थियो।
उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरी भने सो मुद्दामा निर्दोष ठहर भएका छन्।





