सर्लाही – मधेस प्रदेशको धार्मिक तथा सांस्कृतिक पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘घुमौं मधेस, बुझौं मधेस’ अभियानका संयोजक विकास कुमार ठाकुरले भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन्। बिहीबार नयाँदिल्लीस्थित रक्षा मन्त्रालयमा भएको भेटमा नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अभिषेकप्रताप शाह पनि सहभागी थिए।
संयोजक ठाकुरका अनुसार भारतसँग सीमा जोडिएको मधेसका ऐतिहासिक, सांस्कृतिक र धार्मिक स्थलहरूलाई भारतीय धार्मिक पर्यटन मार्गसँग जोड्ने, संयुक्त प्रचार–प्रसार गर्ने तथा पर्यटन पूर्वाधारमा लगानी ल्याउने मुख्य उद्देश्यसहित ज्ञापनपत्र बुझाइएको हो। उनले भने, “मधेस र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउन र यी स्थलहरूको अन्तर्राष्ट्रिय स्तरमा परिचय बनाउन भारतको सहयोग अपेक्षित छ।”

ज्ञापनपत्रमा जनकपुरधाम (सीताको जन्मभूमि), धनुषाधाम, महागढीमाई, देवधाम, जलेश्वरनाथ महादेव, चमेली माई, रजवा महादेव, शितली माई, नाढीमन ताल, नुनथर पहाड, छिन्नमस्ता भगवती, कंकालनी माता, दुर्गा भगवती, शिवमन्दिर, सहलेश फुलवारी, हरिहरनाथ मन्दिरलगायत स्थलहरूलाई नेपाल–भारतको साझा सांस्कृतिक सम्पदाको रूपमा उल्लेख गर्दै ती स्थलहरूलाई भारतको प्रमुख धार्मिक पर्यटन मार्गसँग जोड्न माग गरिएको छ।
भारतीय रक्षामन्त्री सिंहले नेपाल–भारतबीचको ऐतिहासिक र धार्मिक सम्बन्धलाई समयानुकूल अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिँदै मधेस प्रदेशको पर्यटन वर्षलाई भारतीय प्रधानमन्त्रीको आसन्न नेपाल भ्रमणको एजेण्डामा राख्ने पहल गर्ने आश्वासन दिए। उनले धार्मिक पर्यटन आदान–प्रदानका लागि चाँडै ठोस कदम चालिने र परिणाम देखिने खालको पहल गरिने बताए।
ज्ञापनपत्रमा राखिएका १० बुँदे मागमा जनकपुरधामलाई ‘रामायण सर्किट’मा विशेष रूपमा समावेश गर्ने, जनकपुर–अयोध्या धार्मिक पर्यटन करिडोर सशक्त बनाउने, विशेष पर्यटक बस तथा रेल सेवा सञ्चालन गर्ने, भारतीय लगानी र प्राविधिक सहयोगमा पर्यटन पूर्वाधार विकास गर्ने, जनकपुरधाम अयोध्याबीच सीधा नियमित हवाई उडान प्रारम्भ गर्ने, मधेसका धार्मिक स्थलहरूलाई ‘बोर्डर टुरिज्म’मा समावेश गर्ने, संयुक्त सांस्कृतिक पर्यटन अभियान सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय धार्मिक पर्यटन मानचित्रमा स्थान दिलाउने, अयोध्या र वाराणसीमा मधेसका धार्मिक स्थलसम्बन्धी डिजिटल सूचना बोर्ड राख्ने तथा ‘सीता बिना राम अधुरो’ नारा सहित अयोध्यामा जनकपुरधामको प्रचार गर्ने प्रस्तावहरू छन्।
ज्ञापनपत्रमा यी मागहरू पूरा भए नेपाल–भारतको सांस्कृतिक सम्बन्ध अझ मजबुत हुने, मधेस प्रदेशलाई विश्वस्तरीय धार्मिक पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न सकिने र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।





