सर्लाहीका सीमावर्ती नाकाहरूमा तस्करी अब संगठनात्मक र संस्थागत स्वरूपमा फैलिँदै गएको छ ।
कानुन कार्यान्वयनमा खटिनुपर्ने सुरक्षा निकायकै सक्रिय मिलोमतोमा तस्करीको ‘सेटिङ सिस्टम’ मजबुत बन्दै गएको तथ्य फेला परेको छ । हिरापुर ब्यारेज प्रहरी चौकीका तत्कालीन इन्चार्ज सई बैद्यनाथ दासको तस्करसँगको घुस बार्गेनिङ अडियो सार्वजनिक भएपछि निलम्बनमा परेका थिए । तर, उनको स्थानमा आएका सई नागेन्द्रप्रसाद यादवको आगमनसँगै तस्करी पुनः सजीव बन्दै गएको छ ।

स्थानीय स्रोतका अनुसार फेनहरा, मधुवनी गाउँ, बहादुरपुर, बलरा लगायतका ठाउँबाट तस्करी भएर आउने सामानहरू हिरापुर ब्यारेज हुँदै बरहथवातर्फ लगिने क्रम तीव्र छ । बरहथवा इलाका प्रहरी कार्यालयका घुमुवा बरिष्ठ हवल्दार राम यादव र शशीनन्दन पाण्डे तस्करी मिलाउने मुख्य पात्रका रूपमा चिनिएका छन् । उनीहरूको दरबन्दी सिरहा र ढल्केवरमा भए पनि मधेश प्रदेशका उच्च अधिकारीको मौखिक आदेशमा बरहथवामा खटाइएको दाबी जिल्लाका प्रहरी अधिकारीले गर्दैआएका छन् ।
यी घुमुवाहरूले तस्करीलाई सुरक्षित बनाउने, रकम असुली गर्ने र सेटिङ मिलाउने भूमिका निर्वाह गर्दै आएको आरोप स्थानीय व्यवसायीहरूको छ । माथिल्लो तहको मौन सहमतिबिना जिल्लाका प्रहरी अधिकारीले मात्र यस्तो गतिविधि सम्भव नहुने स्रोतहरू बताउँछन् । गडहिया क्षेत्रमा भने तस्करीको सेटिङ इलाका प्रहरी कार्यालय गडहियाका इन्स्पेक्टर उज्वल कार्कीको निर्देशनमा प्रहरी जवान बालबिर पासवानमार्फत् सञ्चालनमा आएको छ । पासवानले तस्करहरूलाई स्कटिङ गर्ने, सूचना दिने र सुरक्षाको व्यवस्था मिलाउने भूमिका खेलिरहेको बताइएको छ ।
फेनहरा, बहादुरपुर, बलरा, मधुवनी जस्ता सीमावर्ती बस्तीहरू तस्करीको ‘हट स्पट’ बनेका छन् । दर्जनौं तस्करहरू खुलेआम कारोवारमा सक्रिय छन् । कवाड, कपडा, मकै, स्याउ, काक्रोको बीउ, काठ, पटाका, धान, गहुँ, कोदो, सूर्तिदेखि इलेक्ट्रोनिक सामानसम्मको तस्करीमा नवीन चौधरी, राजेश ठाकुर, बिजय यादव, दिनेश चौधरी, कृष्ण यादव, बिजय महतो, प्रकाश यादव, इन्दल यादव, बिजय चौधरीजस्ता तस्करहरू सक्रिय रहेको स्रोत बताउँछ ।
प्रत्येक रात फेनहरा र बहादुरपुर नाकाबाट एक दर्जनभन्दा बढी पिकअप तस्करीमा प्रयोग हुने गरेका छन् । गडहियाका घुमुवा बालविर पासवानको सेटिङमै यस्ता गतिविधि संचालन हुँदै आएका छन् । यसैबीच, सर्लाहीको पूर्वी भेगमा पर्ने प्रहरी चौकी पर्सा र नरायणपुर क्षेत्र पनि तस्करीको अर्को सुरक्षित मार्गका रूपमा सक्रिय देखिएको छ । स्थानीयवासीहरूका अनुसार यी दुवै चौकीका ईन्चार्जकै सेटिङमा हरेक रात एक दर्जनभन्दा बढी पिकअप गाडी नेपालबाट भारत र भारतबाट नेपाल तस्करीका सामानहरू लिएर बेरोकतोक ओहोरदोहोर गर्छन् । – नेपालफेसबाट साभार





