७९ औँ स्वतन्त्रता दिवस भव्य रूपमा मनाउँदै भारत

२०८२ श्रावण ३०, शुक्रबार ०७:५३

नयाँ दिल्ली – भारतले आज शुक्रबार ७९ औँ स्वतन्त्रता दिवस उल्लासपूर्वक मनाउँदैछ। प्रत्येक वर्ष १५ अगस्टमा मनाइने यो दिनले ब्रिटिस उपनिवेशको अन्त्यसँगै भारत स्वतन्त्र राष्ट्रका रूपमा स्थापित भएको ऐतिहासिक क्षणलाई स्मरण गराउँछ।

यो अवसरमा स्वतन्त्रता आन्दोलनका क्रममा अहिंसात्मक संघर्ष, सविनय अवज्ञा, असहयोग अभियान र देशभक्तिका भावनासहित अनगिन्ती स्वतन्त्रता सेनानीहरूले देखाएको साहस र बलिदानलाई सम्मान गरिन्छ।

१५ अगस्ट १९४७ भन्दा अघि भारत ब्रिटिस शासनको अधीनमा थियो, जहाँ स्वतन्त्रताको लागि दशकौं लामो सङ्घर्षमा असहयोग आन्दोलन (१९२०-२२), सविनय अवज्ञा आन्दोलन (१९३०-३२) र भारत छोडो आन्दोलन (१९४२) निर्णायक साबित भएका थिए।

दोस्रो विश्वयुद्धपछि आर्थिक र राजनीतिक रूपमा कमजोर बनेको ब्रिटिस सरकारले अन्ततः भारतलाई स्वतन्त्रता दिने निर्णय गर्‍यो। सन् १९४७ मा पारित भारतीय स्वतन्त्रता ऐनले ब्रिटिस भारतलाई भारत र पाकिस्तान गरी दुई नयाँ डोमिनियनमा विभाजन गर्यो।

१४–१५ अगस्टको मध्यरातमा भारत स्वतन्त्र राष्ट्रको रूपमा उदायो र प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको ऐतिहासिक ‘नियतिसँगको भेट’ भाषणबाट नयाँ यात्राको थालनी भयो।

स्वतन्त्रता दिवसमा देशभर देशभक्ति र एकताको भावनाले ओतप्रोत विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ। मुख्य समारोह राजधानी दिल्लीको लाल किल्लामा हुने गर्दछ, जहाँ प्रधानमन्त्रीले राष्ट्रिय ध्वज फहराउँछन्। त्यसपछि २१ तोपको सलामी दिइन्छ र राष्ट्रगान बजाइन्छ। आज पनि प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लाबाट तिरंगा फहराउँदै राष्ट्रलाई सम्बोधन गर्नेछन्।

यससँगै, यो अवसरमा देशभरका २६ राज्य र केन्द्रशासित प्रदेशका ८५ गाउँका सरपञ्चहरूलाई विशेष अतिथिको रूपमा आमन्त्रण गरिएको छ। सुरक्षा व्यवस्थामा ११ हजारभन्दा बढी सुरक्षाकर्मी, तीन हजार ट्राफिक प्रहरी, स्नाइपर, एन्टी-ड्रोन युनिट, सीसीटीभी, अनुहार पहिचान प्रणाली, स्वचालित नम्बर प्लेट पहिचान र सवारीसाधन निगरानी प्रणालीको व्यवस्था मिलाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार