प्रधानमन्त्री ओली आज जनकपुर आउँदै, मधेस प्रहरीको नयाँ भवन उद्घाटन गर्ने

२०८२ श्रावण ३०, शुक्रबार ०८:२५
File image

सर्लाही – प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) जनकपुर आउने भएका छन्। साढे २३ करोड रुपैयाँभन्दा बढी लागतमा बनेको मधेस प्रदेश प्रहरी कार्यालयको नयाँ प्रशासनिक भवनको औपचारिक उद्घाटन गर्न उनी यहाँ आउँन लागेका हुन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार प्रधानमन्त्री ओली आज (शुक्रबार) बिहान करिब ११:३० बजे आफ्नै हेलिकप्टरमार्फत जनकपुर अवतरण गर्नेछन्। भवन उद्घाटनपछि उनले अन्य तय भएका कार्यक्रमहरूमा पनि सहभागिता जनाउनेछन्।

जनकपुर उपमहानगरपालिका–४ मा ४ बिघा १९ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको यो भवन प्रदेश सरकारको सहयोगमा सम्पन्न भएको हो। प्रधानमन्त्रीको आगमनलाई लक्षित गर्दै जनकपुरमा सुरक्षाव्यवस्था कडा पारिएको छ र उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनकपुर प्रहरीले जनाएको छ।

उद्घाटन कार्यक्रममा उपस्थितिका लागि मधेस प्रदेशका ८ वटै जिल्लाका प्रहरी प्रमुखलाई शुक्रबार बिहान ८:३० बजेसम्म जनकपुर आइपुग्न निर्देशन दिइएको छ। यसअघि पनि साउन महिनाभित्रै प्रधानमन्त्री ओलीको यो दोस्रो मधेस प्रदेश भ्रमण हुनेछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार