सर्लाही – सरकारले अनुदान रकम कटौती गरेको भन्दै देशभरका अगुवा उखु किसान राजधानी काठमाडौंमा भेला भएका छन्। चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखुमा अनुदानका लागि रकम विनियोजन नभएपछि उनीहरू असन्तुष्ट छन्।
दुई साताअघि किसानहरूले आ–आफ्नो जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै साउन महिनाभित्र निर्णय गर्न समय दिएका थिए। तर सरकारको चासो नदेखिएपछि सर्लाही, महोत्तरी, रौतहट, बारा, सिरहा, सुनसरी, नवलपरासी, कञ्चनपुरलगायत जिल्लाका किसान काठमाडौंमा केन्द्रित आन्दोलनको तयारीमा जुटेका हुन्।

आज किसानका अगुवाले विभिन्न जिल्लाका सांसद, चिनी उद्योगका सञ्चालक, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, र नेकपा एमाले महासचिव शङ्कर पोखरेललाई भेटेर समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन्।
गोडैता नगरपालिकाका मेयर एवम् उखु उत्पादक महासंघ वार्ता टोलीका केन्द्रीय सदस्य देवेन्द्र कुमार यादवका अनुसार आज पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र समेत बुझाईएको थियो। ज्ञापन पत्र बुझ्ने क्रममा देउवाले समस्या समाधानका लागि पहल गर्ने बताएका छन्।
उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यक्ष भेटेर अनुदान कटौतीबारे कुरा राख्ने तयारी गरेका छन्। यसका लागि महासचिव पोखरेलसँग भेटका लागि समय मिलाइदिन अनुरोध गरिएको छ। प्रधानमन्त्रीसँग आगामी सोमबार भेट हुने सम्भावना रहेको यादवले धड्कन एफ एमसंग बताए।
केन्द्रिय उखु किसान सङ्घर्ष समितिका सह संयोजक राजकुमार उप्रेतीका अनुसार यदि छलफलपछि पनि अनुदान रकम प्राप्त नहुने अवस्था रह्यो भने भदौ दोस्रो सातादेखि माइतीघर मण्डलामा धर्ना सुरु गरिनेछ। आन्दोलनका लागि देशभरबाट झण्डै एक हजार किसान उतार्ने योजना समेत बनाइएको छ।
किसानहरूले गत आर्थिक वर्ष २०८१/८२ को अनुदान समेत अझै पाएका छैनन्। गत वर्ष सरकारले प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो। तर यस वर्षदेखि अनुदान कटौती हुँदा उत्पादन घट्ने चिन्ता किसानमा बढेको छ।





