
मलंगवा – सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित पद्मरत्न विद्या मन्दिर स्कुलदेखि पूर्वतर्फको बस्ती शुक्रबारदेखि औपचारिक रूपमा ‘बज्जिका नगर’ नामकरण गरिएको छ।
रिंग रोड हुलाकी सडकछेउमा आयोजित विशेष समारोहमा बज्जिका साहित्य समाज सर्लाहीका सचिव मुकेश कुमार मिश्रको अध्यक्षता र वडा अध्यक्ष मुकेश जयसवालको प्रमुख आतिथ्यतामा टोलको विधिवत नामकरण तथा उद्घाटन सम्पन्न भयो।

कार्यक्रममा बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहा, भारत बिहार सितामढीका कवि कमरुदिन नदाफ, इन्द्रा कुशवाहा, कवियत्री ललिता देवी कुशवाहा, इन्जिनियर शिवशंकर साह रौनियार, नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी, बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम यादवसहित साहित्यकार, पत्रकार र स्थानीयको उल्लेखनीय उपस्थिति थियो।
सोही अवसरमा मलंगवाबाट पत्रकार मनोज यादवको प्रकाशन तथा विजय कुमार यादवको सम्पादनमा प्रकाशित मधेश दूत राष्ट्रिय दैनिक पत्रिकाको पनि विमोचन गरियो। पत्रिकामा बज्जिका भाषाका साहित्यकार तथा गतिविधिका लागि छुट्याइएको पृष्ठको अतिथिहरुले प्रशंसा गर्दै प्रकाशकलाई धन्यवाद ज्ञापन गरे।
वडा अध्यक्ष जयसवालले ‘बज्जिका नगर’को नामांकन टोलको सांस्कृतिक पहिचान र भाषिक संरक्षणतर्फको महत्वपूर्ण कदम भएको बताउँदै नगरको विकासका लागि वडास्तर र व्यक्तिगत रूपमा आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।