सर्लाहीमा अज्ञात समूहको गोलि प्रहारबाट शिक्षकको मृत्यु

२०८२ श्रावण ३०, शुक्रबार २२:२४
हत्या गरिएका पूर्वशिक्षक रामपुकार यादव

सर्लाही – सर्लाहीमा एक जना निजी विद्यालयका शिक्षकको गोली हानी हत्या गरिएको छ। जिल्लाको हरिपुर्वा नगरपालिका–६ मा शुक्रबार राति अज्ञात व्यक्तिहरूको गोली प्रहारबाट एक जना शिक्षकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार राति करिब ८:२० बजे महादेव यादवका ४० वर्षीय छोरा रामपुकार यादवलाई अपरिचित व्यक्तिहरूले गोली हानी हत्या गरेका हुन्। गोली प्रहारपछि गम्भीर घाइते भएका यादवलाई उपचारका लागि तत्काल जानकी हेल्थ केयर महोत्तरी पठाइएको थियो।

तर त्यहाँ पुर्याएको केहि समय अर्थात् राति ८:४० बजे अस्पतालमा चिकित्सकले यादवलाई मृत घोषणा गरेका हुन्। अहिले मृतकको शव सोही अस्पतालमा राखिएको छ। घटनापछि गोलि प्रहार गर्नेहरु फरार रहेका छन् भने उनीहरुको खोजिकार्य र घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी चौकी हरिपुर्वाबाट प्रहरी सहनिरीक्षक शेख हफजुल्लाहको कमान्डमा ४ जना, ईलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा ११ जना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको कमान्डमा २१ जना गरी कुल ३६ जनाको टोली घटनास्थलमा खटिएको सर्लाही प्रहरीले जनाएको छ।

घटना स्थल प्रहरी चौकी हरिपुर्वाबाट करिब ५०० मिटर उत्तरमा पर्ने बताइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार