सर्लाही – भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्म स्मरणमा आज देशभर विशेष पूजा आराधना, व्रत र भजन कीर्तनसहित जन्माष्टमी पर्व मनाइँदैछ । विष्णुको दश अवतारमध्ये आठौँ अवतारका रूपमा द्वापर युगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा जन्मिएका कृष्णलाई अधर्मविरुद्ध धर्म र प्रेमको प्रतीकका रूपमा श्रद्धा गर्ने गरिन्छ ।
धर्मशास्त्र अनुसार कंसको अत्याचार अन्त्य गरी मानव जातिलाई उद्धार गर्ने उद्देश्यले कृष्ण जन्मिएको विश्वास छ । देवकी र वसुदेवको आठौँ गर्भका रूपमा जन्मिएका कृष्णलाई वसुदेवले राति नै गोकुल पुर्याई यशोदाको काखमा सुताएको धार्मिक कथा छ । पछि यही कृष्णले कंसको वध गरी धर्म पुनःस्थापना गरेका थिए ।

श्रीमद्भगवद्गीतामा कृष्णले अर्जुनलाई दिएका शिक्षा आज पनि जीवन दर्शनको आधार मानिन्छ । उनले ज्ञानयोग, ध्यानयोग, कर्मयोग र भक्तियोगको प्रतिपादन गरेका छन् । आत्मा शाश्वत हुने, निष्काम भावले कर्म गर्नुपर्ने र परमेश्वरप्रति समर्पण नै भक्ति हो भन्ने सन्देशलाई आध्यात्मिक अभ्यासका मूल आधारका रूपमा लिइन्छ ।
धर्मग्रन्थमा जन्माष्टमी व्रत गर्ने स्त्री पुरुष धनधान्य र समृद्धिले सम्पन्न हुने उल्लेख छ । महिलाहरू विशेष गरी यो दिन उपवास बस्ने, मध्यरातमा कृष्णको जन्म स्मरण गर्दै पूजा गर्ने र जाग्राम बसेर भक्ति संगीत गाउने गर्छन् ।
देशभरका कृष्ण मन्दिरहरूमा आज विशेष पूजा आजा, रथयात्रा र शोभा यात्रा हुँदैछ । पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिर, बुढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घ, गोठाटारको नवतनधामलगायतका स्थानमा भक्तहरूको भीड लाग्ने गर्दछ। भारतका मथुरा, वृन्दावन, द्वारका र गोकुलमा पनि भव्य उत्सव हुने परम्परा छ।
श्रीकृष्णलाई प्रेम, भक्ति र आनन्दका देवता मानिने भएकाले यस महिनाभर ‘झुला उत्सव’ पनि मनाइन्छ । कृष्णको प्रिय वाद्य वासुरीलाई घर वा व्यापारिक प्रतिष्ठानमा राख्दा सकारात्मक ऊर्जा र समृद्धि आउने विश्वास छ । आजको रातलाई ‘मोहरात्रि’ भनिन्छ । अज्ञान, अहंकार र लोभलाई हटाएर धर्म, ज्ञान र प्रेमको स्थापना भएको स्मरणमा यो पर्व मनाउने गरिएको छ ।





