हरिपुर्वामा गोलि प्रहार घटना अपडेट: गोलि प्रहार गरि भाग्दै गरेकाहरु मोटरसाईकल दुर्घटनामा

२०८२ श्रावण ३१, शनिबार ०९:५२
सांकेतिक तस्बिर

सर्लाही – सर्लाहीको हरिपूर्वामा गएराति गोली प्रहारबाट एक जना निजि बिद्यालयका शिक्षकको हत्या भएको छ । गोली प्रहार गर्ने व्यक्तिमध्ये एक जना भने त्यही रात मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका छन् ।

हरिपूर्वा नगरपालिका–६ का ४० वर्षीय रामपुकार यादवलाई घर अगाडी छरछिमेकीसँग बसिरहेको अवस्थामा मोटरसाइकलमा चढेर आएका दुई जनाले टाउकोमा गोली हानेका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि महोत्तरीको पर्सास्थित स्वास्थ्य संस्थामा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईका अनुसार गोली हानेर फरार भएका व्यक्तिहरु चढेको मोटरसाइकल गएराति नै हरिपूर्वा–७ मा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका र उनलाई लालबन्दी हुँदै थप उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ । तर उनको परिचय सार्वजनिक गरिएको छैन । अर्का व्यक्ति भने अझै फरार छन् ।

घटनास्थलमा प्रहरी पुगेको र अहिले प्रकृति मुचुल्का उठाउने काम भइरहेको डिएसपी राईले जानकारी दिए । उनको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउने तयारी भइरहेको छ। स्थानीयका अनुसार छरछिमेकीहरुसंग बसेर कुराकानी गरिरहेका बेला दुई जना अपरिचित मानिस आएर रामपुकार भनेको को भनी सोधेर नै गोली प्रहार गरेका थिए।

प्रहरीले दुर्घटनामा परेको मोटरसाइकल बरामद गरेको छ। उक्त मोटरसाईकल घटनामा प्रयोग भएको हुन् सक्ने अनुमान लगाईएको छ। गोली प्रहारपछि दुर्घटनामा परेका व्यक्तिमध्ये एक जना गम्भीर घाइते र अर्का फरार रहेको भन्दै प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार